0 COMMENTS

साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद विनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई–तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झण्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एकसाता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको  कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार यही साउन ६ गतेसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ ।

गत जेठ १८ देखि यही साउन पाँच गतेसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।