0 COMMENTS

वैशाख ३१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रहरीले पक्राउ पर्नु अघि खाणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’ का लागि प्रयोगशालामा पठाइएको हो ।

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरेपछि पुर्व मन्त्री खाणको पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाणको पनि मोबाइल प्रयोगशालामा पठाइएको हो, डाटा रिकभरी भएपछि थप प्रमाण भेटिने आशा गरेका छौं ।’ उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाणको बयान जारी रहने छ । हालसम्म खाणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके केशव दुलाल र सानु भण्डारीसँग आफनो भेटघाट र चिनजान भएको स्वीकार गरेका छन् । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग बयान लिइँदैछ ।

जिल्ला अदालत काठमाडौँले खाणलाई तीनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार आजसम्म खाण प्रहरी हिरासतमा नै रहेका छन् भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।