0 COMMENTS

वैशाख २८, काठमाडौँ । राष्ट्र बैंकको मासिक प्रतिवेदनले पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेपछि शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति पनि थप बलियो अवस्थामा पुगेको देखाएको हो ।

निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी मुद्राका अन्य स्रोतहरू प्रभावकारी बन्न नसकिरहेको अवस्थामा लगातार रूपमा रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचकमा भने सुधार भएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिना (गत चैत) सम्ममा रेमिट्यान्समार्फत ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको रेमिट्यान्स २४.२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको नौ महिनासम्म रेमिट्यान्स वृद्धिदर ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत साउनमा ९२.२ अर्ब, भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कात्तिकमा ९७, मंसिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४० करोड र चैतमा १ खर्ब ९ अर्ब १० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।