0 COMMENTS

वैशाख ११, काठमाडौँ । सिंहदरबारको फोहोर १५ दिनपछि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई ३ दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर बालेन्द्र साह ‘बालेन’ फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।

महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए । मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।

सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौँको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताएका छन् । यस्तै सिंहदरबारको फोहोरमैला नउठेको विषय अदालतमा प्रवेश गर्नु र फोहोरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता भएको थप पुष्टि भएको मेयर बालेन्द्र शाहले बताएका छन् । उनले सर्वाेच्च अदालतको आदेश काठमाडाैँ महानगरपालिकाले मात्र नभई सङ्घीय सरकारले पनि पालना गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।