0 COMMENTS

वैशाख ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ८ गते संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री नीजि सचिवालयका अनुसार वैशाख ८ गते शुक्रबार बिहान ९ बजे परिषद्को बैठक बोला‍एका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार विहान बसेको सभामुखसहित तीन शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति जुटेको थियो ।

प्रमुख प्रतिपक्ष‍ एमाले सहमति नआएको कारण संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन । सोमबारको बैठकमा ओलीले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउन र नियुक्तिको लागि सिफारिस गर्न सहयोग गर्ने वचन दिएपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको छ ।

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ । शुक्रबारको बैठकले कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।