0 COMMENTS

फागुन २४, काठमाडौँ । नेकपा (बहुमत) का संयोजक कञ्चनले अब जसले जति चिच्याए पनि राजतन्त्र नफर्किने बताएका छन् । सहिद–बेपत्ता सन्तति फाउन्डेसनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अतिथिका रूपमा सहभागी संयोजक कञ्चनले जनयुद्ध सञ्चालन गरेको पार्टीको मूल नेतृत्व भनिएका प्रचण्ड र बाबुरामहरूले बाटो बदलेका कारण प्रतिक्रियावादी शक्तिहरू हाबी हुँदै गएको र सहिद–बेपत्ता योद्धाका सपना साकार हुन नसकेको बताए ।

जनयुद्धको धाराबाट आएका प्रचण्ड, बाबुराम, नेत्रविक्रम चन्द, दिनेश शर्मा सागर, कर्णजित बुढाथोकीसमेत सहभागी रहेको कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चनले एउटै माओवादी पार्टीको आह्वानमा योद्धाहरूले बलिदान गरेको र राज्यबाट बेपत्ता बनाइएको हुनाले सहिद र बेपत्ता योद्धाका सपना पूरा गर्ने जिम्मेवारी पनि माओवादी पार्टीकै रहने प्रस्ट पारे । जनयुद्धको धाराबाट दलाली र गद्दारी गरेर विभिन्न बहानामा संसद्वादतिर भाग्ने र लुक्ने छूट कसैलाई नरहेको भन्दै संयोजक कञ्चनले दलाल र नोकरशाही वर्गले बनाएको संविधानले श्रमिक–उत्पीडित जनतालाई सम्बोधन गर्न नसक्ने पनि प्रस्ट पारे । सहिद तथा बेपत्ता परिवारका सन्ततिहरूलाई सावधान गराउँदै संयोजक कञ्चनले सहिदका सपना समेटिएको संस्थालाई साम्राज्यवादी स्वार्थमा दुरुपयोग नगर्न सचेत पारे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वमाओवादी नेता बाबुराम भट्टराई, विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द, क्रान्तिकारी माओवादीका नेता दिनेश शर्मा सागर, कर्णजित बुढाथोकीलगायतले माओवादी एकता र सहिदका सपनाबारे बोलेका थिए । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अवधारणापत्र प्रस्तुत गरेको कार्यक्रममा सहिद परिवारकी खुमा सुवेदीले स्वागत गरेकी थिइन् । कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।