0 COMMENTS

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्यकर्ताहरूलाई तीनबुँदे सहमति उल्लङ्घन गर्दै जेल र हिरासतमा राखिएको छ । त्यसैले यो व्यवस्था नै दलाल, देश बेचुवाहरूको हातमा छ । त्यसकारण यो चुनाव अवज्ञा/बहिष्कार गरौँ । यसको विकल्पमा जनताको वैकल्पिक व्यवस्था स्वाधीन संयुक्त सरकार गठन गरौँ । प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरौँ र जनताबाट निर्वाचित प्रधानन्यायाधीश बनाऔँ ।’

संयोजक कञ्चनले अगाडि भने, ‘यो चुनावमा भोट हालेर कसैलाई जिताउनु भनेको देशमा समृद्धि ल्याउनु होइन, देशको सबै सम्पत्ति लुट्न पठाउनु हो ।’

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले यो चुनावले जनतामा महँगी, भ्रष्टाचार, कालोबजारी मौलाउने, देशमा अशान्ति मात्र हुने र देश श्रीलङ्का बन्ने खतरामा रहेको बताए । नागरिकता विधेयककै कारण देशमा सिक्किमीकरण र फिजीकरण बढ्ने खतरा रहेको र त्यो विधेयक प्रमाणीकरण हुनबाट रोकेर सही काम भएको गजुरेलको भनाइ थियो ।

कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक रोशन रानाले पनि बोलेका थिए । सहिद परिवारका तर्फबाट महान् सहिद कुमार पौडेलका बुबा खिलकराज पौडेलको आतिथ्य रहेको कार्यक्रममा अन्य अतिथिका रूपमा नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य आजाद, पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, नेकपा (क्रान्तिकारी माओवादी) मधेस प्रदेश ब्युरो इन्चार्ज कृष्णदेव दनुवार, नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य महोत्तरी जिल्ला इन्चार्ज झमान, धनुषा जिल्ला इन्चार्ज विमला, सिराहा–सप्तरी इन्चार्ज सुमन, रौतहट जिल्ला इन्चार्ज बाबु, सर्लाही जिल्ला इन्चार्ज निर्माण र बारा इन्चार्ज बद्री उपस्थित थिए । त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) का रामनारायण, महेशलगायत अतिथिका रूपमा उपस्थित थिए ।

चुनाव अवज्ञा/बहिष्कार सभाको अध्यक्षता सन्ध्याले गरेका थिए । स्वागत रोशन राना र सञ्चालन नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।