0 COMMENTS

साउन ९, काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहमा एकै पटक दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार भएका छन् । अन्न निर्यात सम्बन्धी सम्झौतामा रुस र युक्रेनले हस्ताक्षर गरेको केही घण्टापछि एकै पटक दुईवटा क्षेप्यास्त्र हमला भएको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले क्षेप्यास्त्र हमला गरेको दाबी गर्दै अन्न निर्यात सम्झौतालाई प्रभावित पार्ने प्रयास भनेका छन् ।

इस्तानबुलमा भएको वार्तापछि दुबै देशबीच अन्न निर्यातलाई सहजीकरण गर्ने सहमति भएको थियो । रुसले आफूले हमला गरेको अहिलेसम्म आधिकारिक रुपमा स्वीकार गरेको छैन । तर, राष्ट्रपति जेलेन्स्कीले उक्त घटनाले सम्झौता परिपालन नगर्ने चित्रण गरेको भन्दै मस्कोमाथि विश्वास गर्न नसकिने बताएका छन् । युक्रेन प्रमुख अन्न निर्यातकर्ता हो तर युद्धका कारण २ करोड टन अन्न उसका बन्दरगाहहरूमा फसिरहेको छ । युक्रेन र रुसले अन्न निर्यात नगर्दा विश्वभर भोकमरीको खतरा बढ्दै गएको छ ।

विश्वभर भोकमरी हुन नदिने भन्दै शुक्रवार रुस र युक्रेनबीच अन्न निर्यात गर्ने बेलामा रुसले बन्दरगाहहरूलाई निशाना नबनाउने सहमति भएको थियो । ती हमला रुसी सेनाले गरेको युक्रेनी सेनाको दक्षिणी कमान्ड केन्द्रले जनाएको छ । रुस र युक्रेनबीचको उक्त सम्झौतालाई संयुक्त राष्ट्र संघले शुक्रवार आशाको किरण भनेर प्रतिक्रिया दिएको थियो । उक्त सम्झौता गर्न दुई महिना लागेको थियो र सम्झौता सुरुमा १२० दिनका लागि भनिएको थियो । सम्झौताको संयोजन र अनुगमनका लागि इस्तानबुलमा केन्द्र स्थापना गरेर राष्ट्र सङ्घ, टर्की, रुसी र युक्रेनी अधिकारीहरू कर्मचारी रहने व्यवस्था गरिएको थियो । ओडेसा क्षेप्यास्त्र हमलापछि टर्कीले रुसले नगरेको दाबी गरेको छ ।

यसैबीच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनले रुसलाई जित्न नसक्ने बताएका छन् । कन्जरभेटिभहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मस्को र वाशिङटनबीच शान्ति वार्ता गरेर मात्र युद्ध अन्त्य हुने उनले बताएको बीबीसीले उल्लेख गरेका छ । युक्रेन घटनालाई लिएर युरोपेली नेताभन्दा फरक धारणा राख्दै आएका ओर्बानले भने, “युद्ध जित्ने रणनीतिभन्दा फरक रूपमा शान्ति वार्तामा केन्द्रित भएर समाधान खोज्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।