0 COMMENTS

साउन २४, चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले सेवा दिँदै आएका छन् । नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष प्राडा मिनु चौधरी नेपालमा चार सय ८२ मात्रै नेत्र चिकित्सक रहेको जानकारी दिए । उनका अनुसार नेपालको पछिल्लो जनसङ्ख्याको हिसाबले तीन हजारभन्दा बढी नेत्र चिकित्सक आवश्यक पर्दछ ।

अर्कोतर्फ भएका चिकित्सकहरू पनि सहर केन्द्रित छन् । प्राडा चौधरीका अनुसार काठमाडौँमा मात्रै ६० प्रतिशत चिकित्सकले सेवा दिन्छन् । बाँकी ४० प्रतिशत पनि देशका प्रमुख सहरका अस्पतालहरूमा सेवा प्रदान गर्दछन् । सोसाइटीमा दर्ता भएका चिकित्सकमध्ये एक सय हाराहारी नियमित काममा छैनन् । बीस प्रतिशत हाराहारी विदेश भएको अनुमान छ । उनले भने, “सहज आँखा उपचारका लागि चिकित्सकको सङ्ख्या बढाउनुपर्नेमा पर्छ ।”

सन् १९८७ देखि नेपालमा आँखा उपचारका लागि विशेषज्ञ चिकित्सक (अप्थाल्मिक साइन्सक) को अध्ययन–अध्यापन सुरू भएको हो । आँखाका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण संस्थामा सिट सङ्ख्या बढाएर थप जनशक्ति उत्पादनमा लाग्नुपर्ने उनको भनाइ छ । उनले भने, “अहिलेको जनशक्ति निकै कम छ, यसलाई बढाउन लाग्नुपर्छ ।” ग्रामीण क्षेत्रका बासिन्दाले सेवा पाउन अझै कठिन छ ।

विभिन्न अस्पताल र सामाजिक सङ्घसंस्थाले गाउँगाउँमा लैजाने शिविरको भरमा ग्रामीण क्षेत्रको आँखा उपचार धानिँदै आएको छ । देशभर आँखा उपचारको सञ्जाल फैलाएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्त सेवा विस्तार गर्दै गर्दा आँखा उपचार सेवाका लागि दक्ष जनशक्ति पाउन कठिन हुने गरेको बताउँछन् । देशभर २८ अस्पताल र एक सय ६० आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको सङ्घका अस्पतालहरुमा एक सय हाराहारी चिकित्सक कार्यरत छन् ।

उनका अनुसार स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । गत वर्ष सङ्घको नेटवर्कमार्फत ३३ लाख दुई सय ३१ जनाको आँखाको परीक्षण गरिएको छभने दुई लाख ६७ हजार एक सय ३५ जनाको आँखाको शल्यक्रिया भएको छ ।

अध्यक्ष पन्तले सकेसम्म ग्रामीण क्षेत्रसम्म सेवा दिएको जानकारी दिँदै आर्थिक, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीका अभावमा चाहे जति आँखा सेवा गर्न नसकेको बताए । उनले भने, “सेवा द्रुत गतिमा विस्तार गर्दैछौँ, दक्ष जनशक्तिको अभाव छ ।” कतिपयलाई अस्पतालहरूले ‘फेलोसिप’ दिएर पढ्न पठाउने गरेको उनको भनाइ छ ।

अध्यक्ष डा पन्त पढाइरहेको सिट सङ्ख्या वृद्धि गरेर चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव दिनुहुन्छ अझै पनि सङ्घीय राजधानीबाहिर चिकित्सकको अभावमा आम नागरिकले सहज उपचार पाउन सकेका छैनन् । आँखा रोगको उपचार समयमा हुन सकेमा अन्धोपन हुनबाट बचाउन सकिन्छ । नेत्र सहायकको भरमा ग्रामीण क्षेत्रका उपचार केन्द्रहरूले सेवा दिँदै आएका छन् ।

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सबै क्षेत्रमा चिकित्सक पर्याप्तता नरहेको बताए । सरकारले सेवा मात्रै खोज्ने र गुणस्तरीय सेवामा ध्यान नदिने गरेको उनको भनाइ छ । आँखा क्षेत्रमा नेत्र विशेषज्ञहरुको जनसङ्ख्याका आधारमा निकै कम रहेको जनाउँदै उनले यस क्षेत्रमा पनि दरबन्दी बढाएर सेवा दिनुपर्ने बताए । उनले भने, “जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।