0 COMMENTS

साउन २४, काठमाडाैँ । बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन्। विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए।

अन्तरिम सरकार प्रमुख नियुक्त हुँदा उनी फ्रान्सको पेरिसमा थिए। पेरिसबाट बिहीबार दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम बंगलादेशी समाचार संस्थाहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

समाचारहरूका अनुसार युनुस दुबई हुँदै दिउँसो २:१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन्। बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन्। युनुसले आजै आफू नेतृत्वको अन्तरिम सरकारको १५ सदस्यीय सल्लाहका समिति गठन गर्ने तयारी गरेको भारतीय समाचार संस्था द हिन्दुले उल्लेख गरेको छ। युनुसको आगमनमा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)ले ढाकाको नयाँ पल्टनमा र्‍याली समेत गर्न लागेको छ।

देश फर्कनुअघि युनुसले आन्दोलनमा सहभागी विद्यार्थी र विद्यार्थीको आन्दोलनलाई बुलन्द बनाउन सहयोग गर्ने सबैलाई बधाई ज्ञापन गरेका छन्। आफ्नो अफिसियल वेभसाइट युनुस सेन्टरमार्फत विज्ञप्ती जारी गर्दै उनले नयाँ जितको राम्रो सदुपयोग गर्न र शान्त रहन पनि आह्वान गरेका छन्। ‘कृपया सबै प्रकारको हिंसाबाट बच्नुहोस्। म सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक व्यक्तिहरूलाई शान्त रहन आग्रह गर्दछु। यो हाम्रो सुन्दर देश हो जहाँ धेरै रोमाञ्चक सम्भावनाहरू छन्। हामीले यसलाई हाम्रो र हाम्रा भावी पुस्ताहरूका लागि सुन्दर देश बनाउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ। उनले नयाँ संसार सिर्जनाका लागि नेतृत्व दिन तयार रहेका युवाहरू कुनैपनि अर्थहीन हिंसामा गएर मौका गुमाउन नहुने पनि बताएका छन्।

‘कृपया थप शत्रुहरू सिर्जना नगर्नुहोस्। शान्त हुनुहोस् र देश निर्माणको लागि तयार हुनुहोस्,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘ यदि हामीले हिंसाको बाटो लियौं भने सबै नष्ट हुनेछ। कृपया शान्त रहनुहोस्। आफ्नो वरपरका मानिसहरूलाई शान्त रहन मद्दत गर्नुहोस्।‘

को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस ?

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो। छलफलपछि नोबल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको थियो। युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउन विद्यार्थीहरूले नै माग गरेका थिए।

युनुसले बंगलादेशमा लघुवीत्तको अवधारणा सुरूवात गरेका थिए। न्युयोर्क टाइम्सका अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर मिलोस् भन्ने हेतुले उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे। सोही कार्यका लागि उनलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो। नोबल शान्ति पुरस्कार पाएपछि उनले संसारभरबाट लोकप्रियता कमाए।

तानाशाही मात्रै नभएर पछिल्ला दशकमा शेख हसिनामा अहंकार र दम्भ पनि बढैको थियो।आफू भन्दा कोही धेरै लोकप्रिय भएको उनले सहनै छोडेकी थिइन्। लाखौं जनतालाई ग्रामीण बैंकमार्फत १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेपछि नोबेल शान्ति पुरस्कार पाएका युनुस पनि उनको कोपभाजनमा परे।

भर्खर नोबेल पुरस्कार जितेर लोकप्रियताको शिखरमा रहेका बेला सन् २००७मा तत्कालिन सैनिक शासनले वाक्क भएका युनुसले दल खोलेर राजनीतिमा आउने सोच बनाएका थिए। त्यतिबेला उनले नाम नतोकी सिद्धान्त नभएर नेताहरू पैसाका लागि राजनीति गर्ने भनेका थिए।

युनुसको त्यो भनाइ संसारभरका नेतालाई जनताले लगाउने खालको भए पनि हसिनाले कहिल्यै भुलिनन्। र युनुसजस्तो लोकप्रिय मान्छे राजनीतिमा आए आफू सत्ताच्यूत हुने डरले युनुसमाथि निशाना साँध्न थालिन्। शुरूमा उनले देशमा अवकाश पाउने उमेर ६० भए पनि युनुस ७३ वर्षसम्म ग्रामीण बैंकको प्रमुख रहेको भन्दै २०११ मा उनलाई प्रमुखबाट हटाइन्।

युनुसले विश्व बैंकलाई भड्काएर सन् २०१२ मा पद्‌मा नदीमाथिको लामो पुल बनाउने योजनामा लगानी नगर्न उक्साएको आरोप पनि हसिनाले लगाइन्। गंगा नदीको शाखा पद्‌मामाथि पुल बनाउनुलाई राष्ट्रिय गौरवको विषय बनाउँदै पछि उनले स्वदेशी लगानीमा उक्त पुल बनाइन्।

सन् २०२२ मा उनले उद्घाटन गरेको ६.१५ किलोमिटर लामो पुललाई उनले आफ्नो शासनमा देशमा भएको विकासको ज्वलन्त प्रमाणका रूपमा प्रचार गरिन्। पछि युनुसले गरीबको रगत चुसेको आरोप लगाउँदै उनी विरूद्ध चर्को ब्याज लिएको र भ्रष्टाचारको मुद्दा चलाइन्। यसै वर्ष युनुसलाई अदालतले कैद सजायसम्म सुनायो।

तर समयचक्र यसरी घुम्यो कि हसिनाले राजीनामा दिएर देश छोडेपछि अहिले आन्दोलनकारीले विदेशमा रहेका ८४ वर्षीय युनुसलाई कुनै न कुनै हैसियतमा अन्तरिम सरकारमा सहभागी गराउनै पर्ने माग गरे। र राजनीतिमा आउँछु भनेका कारण हसिनाको निशानामा परेका युनुस अन्तरिम सरकारका प्रमुख बन्ने भएका छन्। अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।