0 COMMENTS

असार ९, काठमाडौँ । क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलाले सिताराम तामाङको संयोजकत्वमा ६५ सदस्यीय केन्द्रीय संगठन समिति निर्माण गरेको छ । भेलाले १३ सदस्यीय सचिवालय निर्माण गरेको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) बिच एकताबाट बनेको क्रान्तिकारी किसान महासंघको एकता भेलाले संगठनको केन्द्रीय मुखपत्रको रुपमा ‘किसान आवाज’ प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।

एकता भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि किरणले तीनवटा किसान संगठनबिच एकता भेला सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले तीनवटा पार्टी वा संगठनबिच एकता गरेपछि वैचारिक, राजनैतिक र सांगठानिक रुपमा बदलिनु पर्ने र क्रान्तिकारी रुपान्तरणका निम्ति सबैले मिहनेत गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । उहाँले घटक संगठन निर्माण गरेर जान पनि किसान महासंघलाई सुझाब दिनुभयो । र, नवगठित कमिटिलाई बधाई तथा शुभकामना दिनुभयो ।

त्यसैगरी पार्टीका केन्द्रीय सहसंयोजक सन्तबहादुर नेपालीले विश्व साम्राज्यवादले फैलाएका नयाँ भ्रमलाई चिर्दै आम किसानका समस्याहरु हल गर्ने हैसियतका साथ किसान संगठनलाई गतिशिल ढंगले अगाडि बढाएर लैजानुपर्ने आवश्यकता औल्याउनु भयो । त्यसैगरी पार्टीका कार्यालय सदस्य तथा स्कूल विभागका प्रमुख रामसिंह श्रीसले आम किसानहरुको मुक्तिकामी नेतृत्वदायी संगठनको रुपमा क्रान्तिकारी किसान महासंघलाई स्थापित गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

त्यसैगरी जवस मोर्चाको तर्फबाट शुभकामना मन्तव्य राख्दै पार्टीका कार्यालय सदस्य दिनेश शर्मा सागरले आम किसानका समस्याहरु समाधानका निम्ति संगठनले गतिशिलतका साथ किसान आन्दोलन उठानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

भेलामा स्वागत मन्तव्य कृष्ण केसीले राख्नुभएको थियो भने प्रतिवेदन प्रस्तुत संयोजक सिताराम तामाङले गर्नुभएको थियो । भेलामा पार्टीका सल्लाहकार कमल चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न भएको एकता भेलाको सञ्चालन सागर अर्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।