0 COMMENTS

असार ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रश्न उठाउँदै फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत राखेको बताएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत राखेको बताएका हुन् ।

‘तत्कालीन गोरखा मिडिया नेटवर्कका मालिक मध्य एक जना फरार छन् । एक जना गृहमन्त्री छन् । सहकारी ठगीमा फरार भएको व्यवसायी साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेको गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ?’ उनको प्रश्न छ, ‘अभिव्यक्ति पक्रिने नयाँ शैली हो ? केटाकेटीपन हो या भगाउने नियत हो ?’

देशलाई जीवी राईको लोकेसन नभई जीवी राई चाहिएको शर्माले बताए । ‘त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछाएर दुई पक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेसन पत्ता लागेको भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले जीवी राईलाई सरकारले पक्रिन चाहेन । पक्रिन चाहेको भए यतिको समय किन लाग्छ ? भन्नुभएको थियो । लोकेसन पत्ता लाग्दा पनि पक्रिन चार दिन किन लाग्छ ?,’ उनले भने ।

मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जीवी राईलाई ल्याउन कठिनाइ भए पनि असम्भव नभएको शर्माले बताए । मलेसियाबाट कुनै पनि अपराधीलाई पक्राउ गरेर ल्याउन सुपुर्दगी सन्धि नचाहिने महामन्त्री शर्माको दाबी छ ।

‘आजभन्दा १० वर्षअघि सुशील कोइराला प्रधानमन्त्री भएकाले मलेसियासँग नेपालको सुपुर्दगी सन्धि थिएन । तर चितवनको राजकुमार चेपाङ नाम गरेको एक जना व्यक्तिलाई मलेसियन सरकारकै सहयोगमा २०७१ साल माघ १६ गते पक्राउ गरेर नेपाल ल्याइएको थियो । अहिले मलेसियाको सुपुर्दगीको प्रक्रियाभन्दा पनि स्टन्टबाजी भइरहेको छ,’ उनले भने ।

नैतिकताको प्रश्नले तत्कालीन अर्थमन्त्री रामशरण महत र जनार्दन शर्मालाई छोए पनि रवि लामिछानेलाई नछोएको उनको भनाइ थियो । आफूमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति बन्दा महत र शर्माले पदबाट राजीनामा दिए पनि गृहमन्त्री लामिछाने पदमै आसीन भएको प्रसङ्ग उठाउँदै शर्माले नैतिकताको प्रश्न उठाएका थिए ।

सूर्यदर्शन सहकारीका पीडितहरूलाई सर्वोच्च अदालतको प्रवेशमा लगाइएको रोकबारे पनि शर्माले गृहमन्त्रीको नियतमाथि प्रश्न उठाए । उनले भने, ‘सूर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौँ आएका थिए ।

अदालतले पाँच जनालाई पास पनि दियो । तर प्रहरीले उनीहरूलाई गेटमै रोक्यो । आफ्नो मुद्दासँग सम्बन्धी पीडितहरूले अदालतमा बहस सुन्न चाहँदा अदालतले पास दिए उनीहरुले सुन्न पाउनुपर्छ । तर, अदालतभित्र डोर ग्याङ (रास्वपाका नेताहरू) का साथीहरू इजलासमा बसेर मुद्दाको बहस सुनिरहनुभएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।