मङ्सिर २०, काठमाडौँ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको हो ।
आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ । यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ६ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको थियो ।
न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । अहिले आगो भने नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ ।