वैशाख ६, चितवन । भरतपुरका संस्थागत विद्यालय अभिभावक संघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुर समितिले यथाशिघ्र विद्यालय सञ्चालन गर्न माग गरेका छन् ।
संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष भोजराज न्यौपाने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुरका अध्यक्ष सुदीप सुवेदीले संयुक्त अपिल जारी गर्दै यथाशिघ्र विद्यालय सञ्चालन गर्न माग गरेका हुन् । केहीदिन अघि भरतपुर महानगरपालिकाले संघीय सरकारको निर्णय विपरीत तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको थियो । तर आम अभिभावक तथा विद्यार्थीहरूको चाहना र व्यवहारिकता समेतलाई मध्यनजर गर्दै यथाशिघ्र शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नका लागि भरतपुर महानगर र भरतपुर महानगर भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू समक्ष अपिल गरेको छ ।
लामो समय विद्यार्थीहरू घरमै रहँदा शिक्षण सिकाईमा प्रभाव पर्ने भएकाले तत्काल विद्यालय सञ्चालन गर्नु पर्ने संस्थागत विद्यालय अभिभावक संघ भरतपुर महानगर समितिका सचिव नविन चापागाईले बताए । ‘अहिले अनावश्यक रूपमा विद्यालय लामो समय बन्द गरिएको छ, यसले झनै विद्यार्थीमा नकरात्मक असर पर्छ, अभिभावकहरूको गुनासोका आधारमा तत्काल विद्यालय सञ्चालन गरियोस्’–सचिव चापागाईले भने ।
लामो समयसम्म घरमै बस्दा विद्यार्थीहरूको सर्वाङगीण विकासमा बाधा पुग्ने, अभिभावकहरूलाई पनि निरन्तर रूपमा घर व्यस्त राख्न कठिनाई सिर्जना हुने, बालबालिकाहरू मोबाइल फोन, टिभीमा व्यस्त हुने तथा घर बाहिर असुरक्षित किसिमले घुमफिर गर्दा विविध समस्या सिर्जना हुन सक्ने भएकाले छिटो विद्यालय खुलोस् भन्ने अभिभावकहरूको चाहना रहेको बताएका छन् ।
