पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भने– नेपाल दुई आणविक हतियारद्वारा सुसज्जित देशबाट घेरिएको छ । यथार्थ कुरा के हो भने नेपाल चीन, भारत, पाकिस्तानजस्ता आणविक हतियारयुक्त देशहरूको प्रयोगशाला हुनसक्ने सम्भावना रहेको छ । पछिल्लो विश्व–अर्थतन्त्रमा देखापरेको नयाँ सङ्कट, रुस र युक्रेनका बीचमा भएको युद्ध, छद्मयुद्धको अभ्यास, त्यसले पारेका आर्थिक, राजनीतिक असरहरू र शक्तिहरूका बीचको तीव्र ध्रुवीकरण यसको कारण हुन सक्छ । अहिले रुस र युक्रेनको युद्ध जे सतहमा रहेको छ, अन्तर्यमा त्यसका पछाडि धेरै तथ्यहरू रहेको सहज अनुमान गर्न सकिन्छ । त्यसैले पछिल्लो विश्वका बारेमा धारणा बनाउनु पर्दा रुस—युद्धको यथार्थलाई सतही नभएर पिँध बुझ्न जरुरी रहेको छ ।
यहाँ पहिला नै एउटा प्रसङ्ग जोडौँ, नेपालको वर्तमान राजनीतिक परिदृश्य चलचित्रझैँ बदलिरहेको छ । त्यसका पछाडि विश्वराजनीति र शक्ति राष्ट्रहरूको चाहनाको प्रतिबिम्बन हो भन्न सकिन्छ । विश्वका अन्य महादीपजस्तै एसिया र त्यसमा पनि दक्षिणएसियामा विश्वको राजनीति नयाँ मोडमा पुगेको छ । गजबगजबका रणनीतिक मोर्चाहरू बनिराखेका छन् । हुनत विश्वका शक्ति राष्ट्रहरू मूल रूपमा एकल ध्रुवीय अमेरिकी साम्राज्यको साख गिर्दै गएपछि विश्वका कुनाकाप्चासम्म विभिन्न राजनीतिक परिघटनाहरू भइरहेका थिए । त्यसमा पनि रुस—युक्रेन युद्धले यो प्रक्रियालाई प्रोत्साहन दिएको छ ।
के हो युक्रेन युद्ध ?
रुस—युक्रेनको युद्ध भड्किएका यी १४ महिनामा भएका परिघटनालाई हेर्दा यो युद्ध सतहमा रुस र युक्रेनबीच भएको जस्तो देखए पनि वास्तविकतामा युक्रेन केवल युद्धमैदान मात्र र खासमा अमेरिकाद्वारा निर्देशित, योजनाबद्ध र नेतृत्व गरिएको रुसविरुद्धको युद्ध हो । समुद्र पारको साम्राज्यावादी देशको दबाबमा रुसलाई रणनीतिक रूपमा घेरा हाल्न बनाइएको योजनामा युक्रेनले नाटोको सदस्य हुन खोज्दा थोपरिएको युद्ध हो जसको सिकार युक्रेन बन्न पुगेको छ । नेपाल असंलग्न देश भएकाले युद्धका पक्षमा रहनु हुँदैन । भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र नाटोका पक्षमा युक्रेन भूमिलाई रुसविरोधी अखडा बनाउनका लागि धेरै दिनसम्म बोर्डरमा सेना ल्याएर राख्यो । उसले नाटोमा सहभागी हुन्नँ भनेको भए रुसले आक्रमण गर्दैनथ्यो । सोभियत सङ्घको विघटनसँगै वार्सा विघटन भएको थियो तर अमेरिकाको योजनामा नाटोलाई झनै विस्तार गर्न थालियो । पूर्वसोभियत सङ्घमा रहेका १५ वटा राज्यलाई सोभियत सङ्घबाट अलग गराइएको थियो । यसबाट रुस आशङ्कित भएको अवस्थामा यसरी युक्रेनलाई पनि फौजी क्षेत्रमा परिणत गर्ने र रुसमाथिको आक्रमणलाई सहज बनाउने उद्देश्यले नाटोमा प्रवेश गराउन खोजेपछि रुसले आफ्नो देशको रक्षाका लागि युद्ध भएको सहजै बुझ्न सकिन्छ ।
सबैले बुझेको कुरा के हो भने भ्लादिमिर पुतिन साम्यवादी विचारका मान्छे होइनन् र रुस स्वयम् पनि समाजवादी देश होइन । तर युरोप र एसियाको ठूलो भूभाग ओगटेको र आफ्नो समयको विश्वको सबैभन्दा क्रूर, फासिवादी, दिग्विजयको अभियानमा निस्किएको हिटलर र जर्मनीलाई स्टालिनले पराजित गरेर बाँकी विश्वको रक्षा गरेका थिए । त्यसको ह्याङओभर अमेरिकालगायत देशहरूमा परिराखेको छ । ठीक त्यसैगरी दोस्रो विश्वयुद्धपछि अमेरिकाको विश्वभरि एकपक्षीय हैकम चलिराखेको थियो तर ९÷११ को घटनापछि मूल रूपमा २००८ को अमेरिकालगायत विकसित भनिएका पुँजीवादी राष्ट्रहरूमा आर्थिक मन्दी भएकाले अमेरिको हैकम गिर्दो रहन गएको छ ।
युक्रेन युद्धको विभिन्न स्वरूप रहेको छ । एउटा रुस—युक्रेन गर्मागर्मी युद्ध (हट वार) चलिराखेको छ । यो छर्लङ्ग देखिएको छ । अर्को छद्म युद्ध (शीत युद्ध—कोल्ड वार) का रूपमा रुस, चीन, जनगणतन्त्र कोरिया (उत्तर कोरिया) विरुद्ध अमेरिकासहितको नाटो चलिराखेको छ । यसका साथै अमेरिकालगायत नाटो सम्बन्धित देशहरूले युक्रेनको बहानामा बीबीसी, सीएनएनजस्ता ठूला सञ्चारमाध्यमबाट प्रोपागन्डा युद्ध पनि रुस र चीनका विरुद्ध चलाएको छ । चीनका विरुद्ध अमेरिकाले व्यापार युद्ध चलाएको थियो । अहिले खुलेआम रुसका विरुद्ध त्यहाँ उत्पादित पेट्रोल, खाद्यान्न नकिन्न भनी व्यापार युद्ध पनि चलाएको छ तर यति हुँदाहुँदै पनि भारतलगायत देशहरूले खुलेआम पेट्रोल किनिराखेका छन् ।
यी तथ्यहरूले के देखाएको छ भने विश्व एकल ध्रुवीयबाट बहुध्रुवीयतिर जान थाल्यो र त्यसको मुख्य चरित्रका रूपमा पुतिन, सी जिङपिन, किम जोङउन प्रत्यक्ष रूपमा देखापरे । यो गठबन्धनमा रुस, चीन, भारत, दक्षिण अफ्रिका, ब्राजिललगायत ५ वटा देशको ब्रिक्स त छँदै थियो । त्यसमा इन्डोनेशिया, इजिप्ट, इरानलगायत देशहरू पनि अमेरिका र नेटोविरुद्धको गठबन्धनमा संलग्न हुँदै गइरहेका छन् । यसरी अमेरिका गठबन्धनविरुद्धका मुलुकहरूको सङ्ख्या बढिरहेको छ । यसबाट अमेरिका र नाटोको निद्रा बिथोलिएको छ जसको फलस्वरूप अमेरिकालगायत देशहरू यी चुनौतीहरूलाई पन्छाउन युद्ध थोपर्दैछन् ।
दोस्रो विश्वयुद्धबाट शक्तिशाली साम्राज्यवादमा दरिएको अमेरिकाले सोभियत सङ्घको विघटनपछि एकधु्रवीय साम्राज्य फैलाइरहेको थियो । अहिले बहुध्रुवीय हुँदैछ । यो प्रसवपीडाबाट सबैभन्दा बढि अमेरिका छट्पटाइरहेको छ ।
नेपालको भूराजनीतिक अवस्था र प्रभाव
नेपाल चीन र भारतजस्ता आणविक हतियारले सुसज्जित दुई राष्ट्रहरूबाट घेरिएको छ । साथै भारतसँग सदैव दुस्मनीपूर्ण सम्बन्ध रहेको र चीनसँग सुमधुर सम्बन्ध रहेको पाकिस्तान जो काठमाडौँबाट केवल १४ सय ४७ किलोमिटर टाढा रहेको छ, ऊसँग पनि आणविक हतियार रहेको छ । दक्षिणएसियामा नाटोलाई फरक तरिकाले लागू गर्न अमेरिकाले हिन्द प्रशान्तीय रणनीति –आईपीएस) परियोजना लागू गरिसकेको छ । यसलाई अमेरिकाले योजनाबद्ध रूपमा तीनवटा तहमा विभाजन गरेको छ । एउटा अमेरिका, भारत, जापान र अस्टे«लियासहितको क्वार्ड बनाएको छ । त्यसैगरी हिन्द प्रशान्तीय क्षेत्रलाई रणनीतिक प्रभाव पार्न आणविक हतियार जडित पनडुब्बी बनाउन २०२१ मा अमेरिका, बेलायत र अस्ट्रेलिया मिलेर तीनपक्षीय सुरक्षा सम्झौताबमोजिम आउकुस बनाएका छन् । यो परियोजना अमेरिकाको नेतृत्वमा बेलायतको विशेष सहयोगमा अस्ट्रेलियाले आणविक—शक्तिको पनडुब्बी बनाइरहेको छ । उक्त पनडुब्बी आउकुसको आणविकीकरण गर्ने उद्देश्यमा आधारित छ । आउकुसमाथि क्वार्ड रहेको छ । त्यसमाथि नेपाललाई पनि सम्मिलित गर्ने मूल रूपमा एसिया प्रशान्त क्षेत्रमा फौजी सक्रियता बढाउने योजना रहेको छ आईपीएस । यसको मुख्य उद्देश्य भनेको चीनलाई घेरा गर्ने हो । नेपालले यसैको अंगका रूपमा रहेको सहश्राब्दी चुनौति निगम(मिलेनियम च्यालेञ्ज कर्पोरेशन) पारित गरेर कार्यान्वयनमा गैसकेको छ । त्यसैले चीनले आइपीएसलाई एसियन नाटोको रूपमा हेरेको छ ।
यसरी हेर्दा युद्ध विस्तारै पश्चिमबाट पूर्वतिर सर्दै गएको देखिन्छ । नेपालमा अहिले दुई किसिमका अन्तर्विरोधले गाँजेको देख्न सकिन्छ : एउटा पहिलादेखि नै रहँदै आएको दक्षिणएसियास्तरमा क्षेत्रीय अन्तरविरोध मुख्य रूपमा चीन र भारतबीचको र पछिल्लो क्रममा अर्को थपिएको छ चीन र अमेरिकाबीचको अन्तरविरोध । यी दुवै अन्तरविरोधमा नेपाल रणनीतिक महत्वको भूभागमा अवस्थित छ । यी अन्तरविरोधले नेपाललाई प्रत्यक्ष असर पारेका छन् । यी क्षेत्रीय र अन्तर्राष्ट्रिय अन्तरविरोधमा नेपाल फुटबल मैदानमा परिणत भएको छ ।
यी त भए नेपालमा युक्रेन युद्ध र त्यसले पारेका रणनीतिक, भौगोलक प्रभावहरू । यसका साथै आर्थिक प्रभाव पनि जबर्जस्त पेरको देखिन्छ । नेपालको चुलोमा सनफ्लावर तेलमा भएको मूल्य वृद्धिले असर पारेको छ । रुसबाट सस्तो मूल्यमा नेपालमा आयात हुने सूर्यमुखी तेलको मूल्य ह्वात्तै बढेको छ । युक्रेनमा उत्पादन हुने खाद्यान्न पूर्ण रूपले बन्द भयो । पेट्रोलियम पदार्थ पेट्रोल, खाना पकाउने ग्याँसको कच्चा पदार्थ रुसमा अत्यन्तै सस्तो छ । तर भारतसँग मात्र भर पर्नुपर्ने भएकाले झन्डै दोब्बर मूल्यमा किन्नु परेको छ ।
नेपालले असंलग्न परराष्ट्र नीतिमा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्र सुरक्षापरिषद्मा नेपाल रुसको निन्दा गरेर पहिलोपटक आफूले अँगाल्दै आएको असंग्न परराष्ट्र नीतिको बर्खिलाप गएको छ । यो घटनाले क्षेत्रीय सन्तुलनमा फेरबदल आउने देखिन्छ भने नेपाल अमेरिक्री चाहना पूरा गर्ने नियतमा युद्ध मैदानमा परिणत हुने देखिन्छ । यही निरन्तरता रह्यो भने नेपाल ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ मा पर्न सक्छ । अहिलेका आणविक हतियारबाट सुसज्जित कुनै शक्तिको सन्तुलन गुम्न पुग्यो भने नेपालको नामोनिशान नरहन पनि सक्छ ।
सक्रिय हुन तयार भएको ज्वालामुखीको क्रेटर बनेको विश्व र त्यसको इपिसेन्टर बन्दै गरेको दक्षिण एसिया, रणनीतिक केन्द्र बन्दै गरेको नेपालले यी अन्तरविरोधबाट छुट्कारा पाउन सजिलो छैन । युद्धले निम्त्याएको अन्तरविरोधको समाधान युद्धले नै गर्दछ । त्यो युद्ध हो वर्गयुद्ध । माथि भनिएझैँ नेपालमा प्रभाव परेको अन्तर्राष्ट्रिय, क्षेत्रीय अन्तरविरोध, भारत—चीन, अमेरिका—चीनको चिसो सम्बन्धलाई चुनौती मात्र नभएर समाजवादी क्रान्तिका लागि अनुकूलताका रूपमा सच्चा कम्युनिस्टहरूले लिनु पर्दछ । माओले भनेझैँ युद्धले क्रान्ति जन्माउँछ भन्ने कुरालाई गहिरो गरी लिन जरुरी छ । नत्र निराशा मात्र हात लाग्छ । त्यसले विघटनमा लैजान्छ । अहिले देखिएका अन्तरविरोध सजिलै र छिट्टै समाधान हुने देखिँदैन किनभने परिस्थिति धेरै अगाडि गैसकेको छ । समयमा नै बुद्धि पुर्याऔँ ।