0 COMMENTS

वैशाख ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) सिन्धुली जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेला कमलामाई नगरपालिका, सिन्धुलीमाडीमा शनिबार नेकपा (समाजवादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज अर्जुनको अध्यक्षता तथा फुनु माया तामाङको सञ्चालनमा सम्पन्न भएको हो । उक्त भेलाले १०१ सदस्यीय जिल्ला समिति निर्माण गर्नुका साथै विभिन्न जनवर्गीय संगठनको जिम्मेवारीसमेत तोकेको छ ।

जसको इन्चार्जमा अर्जुन, सह–इन्चार्जमा सविना तामाङ र सचिवमा कान्छी माया बम्जन रहेका छन् । यसैगरी अपाङ्ग संगठन अध्यक्षमा जिल्ला सदस्य फुनु माया तामाङ, मजदुर संगठन अध्यक्षमा जिल्ला सदस्य हरिबहादुर नेपाली, सचिवमामा भिम सुवेदी र सदस्यहरुमा प्रदिप वर्देवा, सुनिता नेपाली र इन्दुबहादुर नेपाली रहेका छन् । महिला संगठन अध्यक्षमा जिल्ला सदस्य कान्छी माया वाइवा, युवा संगठन अध्यक्षमा जिल्ला सदस्य अनिल विक रहेका छन् भने सदस्यहरूमा जिल्ला सदस्य सरिता दियाली र जिल्ला सदस्य तारामान विक रहेका छन् ।

भेलामा प्रमुख अतिथि नेकपा (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु कार्कीले ‘माक्र्सवादको विकास रुसी आँखाबाट, चिनिया आँखाबाट, कोरियन, क्यूवाको आँखाबाट नभई नेपाली आँखाबाट नेपाली माटो, हावा, पानी, संस्कार, संस्कृति, अर्थनीतिलाई चिनेर गर्नुपर्ने बताए । उनले अगाडि भने, ‘त्यो हाम्रो आजको अभियान नेता निर्माण गर्ने, अभियान हो । नेता भनेको दृष्टिकोणसहितको हुनुपर्दछ ।’ ‘अहिले चुनावमा उठ्ने ठेकेदार, व्यापारी, सुकुले, मुकुले नेता होइनन्, नेता त समाजलाई मार्गनिर्देशन गर्ने खालका मान्छेहरू हुनुपर्छ’ उनले भने ।

कार्यक्रममा नेकपा (समाजवादी) का प्रवक्ता तथा विशेष अतिथि मानबहादुर तामाङले हामीले निर्माण गरेको एलायन्स सबैभन्दा मजबुत रहेको र आगामी सरकारको नेतृत्व गर्न सक्ने राजनीतिक संस्कार भएको समेत बताए । उनले अगाडि भने, ‘यो स्थानिय चुनावमा हामीले जितेका पालिकाहरू नमुना बनाउने जहाँ शिक्षा, स्वास्थ्य निःशुल्क गराउने, पालिका भरि आत्मनिर्भर अर्थनीति लागू गरेर सबैलाई रोजगारी दिने र नमुना पालिका बनाउने उद्देश्य रहेको बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज इन्द्रप्रसाद तिमिल्सिनाले सिन्धुलीको आफ्नो ऐतिहासिक विरासत थाम्न यो जिल्ला कमिटी सक्षम रहनेमा आशावादी रहेको बताउँदै सफलताको शुभ–कामनासमेत दिए ।

आजकै दिन सह–इन्चार्ज क. सविता तामाङलाई कमलामाई नगरपालिकाको उपमेयरको उम्मेदवार बनाउने घोषणासमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।