0 COMMENTS

वैशाख २, एजेन्सी । इरानले एकैसाथ दर्जनाैँ ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै इजरेलमा हमला गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् ।

मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् । इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई “इजरेली अपराध”को जबाफ बताएको छ । जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् । यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले “अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा” झेल्नुपर्ने चेतावनी दिएको थियो । इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ ।

इजरेलले हमलाहरू अझै नरोकिएको जनाएको छ । इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ । एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ । एउटा पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो “एरो” हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरेली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ । आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरेलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन् । इजरेलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्केका छन् । ह्वाइटहाउसको ‘सिचुएसन रुम’मा भएको बैठकको तस्बिरसहित उनले इरान र उसका ‘प्रोक्सीहरू’बाट हुने जोखिमसँग जुझ्नका लाग इजरेलप्रतिको वासिङ्टनको प्रतिबद्धता “फलामे कवच” जस्तो रहेको बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार इरानले प्रहार गरेका केही ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू समेत संलग्न भएका थिए । इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ ।

कायरोले उक्त क्षेत्र र त्यहाँका मानिसहरूलाई अधिकतम रूपमा संयमित रहन आह्वान गरेको छ । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरबाही भन्दै निन्दा गरेका छन् । उनले इरानलाई आफै पछाडि भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ विन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू “क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको” बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।