0 COMMENTS

चैत २९, काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूले आज आफ्नो महान् पर्व ‘इद उल फित्र’ मनाउँदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि ‘इद उल फित्र’ मनाइन्छ ।  इद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा रहेको छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् । इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ । इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसवर्ष हिजो बुधवार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन आज बिहीवार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ रहेको छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् भने राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मुस्लिम धर्मावलम्बीको महान पर्व इद-उल-फित्रको अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।