0 COMMENTS

चैत २८, काठमाडौँ । आज राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।

एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन् भने नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । एमालेका घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् भने कांग्रेसका पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तन्ने प्रयासमा छिन् । यस्तै, वैशाख १५ गते हुने उपचुनावका लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम–२ मा हुने प्रतिनिधि सभा र बझाङ १ (क) मा हुने प्रदेश सभा चुनावका लागि आचारसंहिता लागू हुने जानकारी दिएका छन् ।

आचारसंहिता इलाम र बझाङ जिल्लाभर लागू हुने छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आज बसेको बैठकले आचारसंहिताको पालना गर्न जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।

आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।