0 COMMENTS

चैत २५, काठमाडौँ । देश र जनतामाथि धोका र गद्दारीका विरुद्ध निरन्तर संघर्षको मूल राजनीतिक सन्देशका रुपमा चैत्र २४ लाई सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले ‘जनआन्दोलन दिवस’को रुपमा मनाउने गरेका छन् । सच्चा देशभक्त र आम नेपाली श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको सच्चा र क्रान्तिकारी राजनीतिक प्रतिनिधि पार्टीको रुपमा स्थापित मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर केन्द्रित र विकेन्द्रित रुपमा ३५ औं जनआन्दोलन दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश संगठन समितिहरुको आयोजनामा काठमाडौं, जनकपुर, इटहरी, पोखरा, भालुवाङ, सुर्खेत र धनगढीमा भव्य जनसभाहरु सम्पन्न भएका छन् । ती प्रदेशभित्रका अधिकांश जिल्लाहरुमा पनि विभिन्न कार्यक्रममार्फत् जनआन्दोलन दिवस मनाइएको छ । ती जनसभाहरुलाई पार्टीका शीर्ष तहका नेताहरुले सम्बोधन गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले मनायो संयुक्त रूपमा ३५औँ जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नम्बर प्रदेश समितिको आयोजनामा मकवानपुरको हेटौँडामा तीन जिल्लाको संयुक्त रूपमा ३५औँ जनआन्दोलन दिवस सम्पन्न भएको छ । शनिबार हेटौँडामा सम्पन्न विशाल रर्यालीसहितको जुलुस क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी ‘अटल’ को नेतृत्वमा बुद्धचोकमा जनसभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी कार्यालय सदस्य चन्द्रहरि सुवेदी ‘अटल’ ले देश टाट पल्टिएको र दलाल नेता मन्त्रीका सन्तानसमेत यो देशको माटोमा नरहेको अवस्था बताए । उनले जनताको श्रम गरेर बाँच्ने आशा नरहेको देश बनाउने प्रचण्डले समेत आफू माओवादी नरहेको बताउँदै इतिहासमै प्रहसन प्रस्तुत गरेको अवस्था सिर्जना गरेकाले जनआन्दोलन अपरिहार्य भएको बताए । कार्यक्रममा बोल्दै प्रदेश संयोजक चन्द्रहरि सुवेदीले मासिक ३६०० युवा देश छोडेर विदेश पलायन हुने क्रम बढ्दो रहेको बताए । बहुदलपछि गणतन्त्रको स्थापनामा यो दोब्बर वृद्धि भएको सरकारी तथ्याङ्क भएको उनले प्रष्ट पारे ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सह-संयोजक लालबहादुर बिसीले अव संसदीय व्यवस्थाको हेडक्वार्टर ध्वंस भएको र नाङ्गो नाँच नाँच्न ओली, प्रचण्ड र देउवा सदैव तत्पर रहेको स्पष्ट पारे । सम्बोधनको क्रममा उनले अब हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी सडकको बीचमा होइन, जनताको मुक्तिको वास्तविक मुक्तिको लागि नयाँ शहरिया जनयुद्धको नेतृत्व गर्ने बताए ।

उक्त कार्यक्रमको अध्यक्षता समेत रहेका चितवन जिल्ला इन्चार्ज भिमबहादुर खड्का ‘ध्रुव’ ले देशमा जनताको वास्तविक मुक्तिको लागि नयाँ शहरिया जनयुद्धको खाँचो रहेको बताए । साथै उनले देश चुर्लुम्म भ्रष्टाचारी र बलात्कारीको चङ्गुलमा फसेको अवस्था रहेकाले जनताको जनतन्त्र जनजिविका र राष्ट्रियता धरापमा रहेको बताउँदै युवाहरूको तागत जनविरोधी राष्ट्रघाती विरुद्धको अभियान सुरू गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समिति तयार रहेको बताए ।

कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला संयोजक घननाथ सापकोटा ‘विकाश’, महाधिवेशन आयोजक समिति सदस्य तथा क्रान्तिकारी महिला सङ्गठन, नेपालकी केन्द्रीय संयोजक अम्बिका मुडवारी, महाधिवेशन आयोजक समिति सदस्य तथा मकवानपुर जिल्ला संयोजक अन्जना तामाङ, महाधिवेशन आयोजक समिति सदस्य तथा घाइते/अपाङ्ग संघ, नेपालका संयोजक शिव गौतम ‘रणदिप’ लगायत अतिथिहरूले मन्तब्य राखेका थिए ।

कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला सह-संयोजक दुर्गा सुबेदी, महाधिवेशन आयोजक समिति सदस्य राजिव तामाङ, महाधिवेशन आयोजक समिति सदस्य आशिष चौधरी, महाधिवेशन आयोजक समिति सदस्य अटल श्रेष्ठ, पार्टी केन्द्रीय सल्लाहकार बाबुराम प्यासी, दिवाकर न्यौपाने लगायत अतिथि रहेका थिए ।

चितवन जिल्ला इन्चार्ज भिमबहादुर खड्का ‘ध्रुव’ को अध्यक्षतामा कार्यक्रमको सञ्चालन रामेछाप जिल्ला इन्चार्ज भरत बुर्जा मगरले गरेका थिए भने स्वागत मन्तव्य मकवानपुर जिल्लाका इन्चार्ज गणेश खड्गीले गरेका थिए । उनले बोल्ने क्रममा यो देशका युवा मजदुर किसान सबै सबै जुर्मुराएको यो समयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी दलाल संसदीय गणतन्त्रको विरुद्ध परिवर्तन र क्रान्तिको नेतृत्व गर्न तयार रहेको बताए ।

त्यसैगरी ३५ औ जनआन्दोलन दिवसको अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकाम चरीकोटमा सम्पन्न कार्यक्रममा दोलखाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू नागरिक अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो । केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चाज पुर्णबहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सचिवालय सदस्य एवं वागमति सह संयोजक सरद रसाइलीले अब संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला भैसकेकोले सबै राजनैतिक दलका नेताले महसुस गर्नुपर्नेमा जोड दिनुभयो । ‘जनआन्दोलन र वर्तमान राजनीतिक परिस्थिति विषयक’ अन्तरक्रिया कार्यक्रमको जिल्ला संयोजक अभियानले संचालन गर्नु भएको थियो ।

रामेछापमा पुष्पलाल र गंगालाको प्रतिमा अनावरण

उता रामेछापमा जनआन्दोलन दिवस सन्दभर्म र पुष्पलाल श्रेष्ठको सय वर्ष पुगेको दिन चैत्र २४ गतेका सन्दर्भमा रामेछाप जिल्ला रामेछाप नगरपालिकाको भँगेरी, जहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महामन्त्री पुष्पलाल श्रेष्ठ र १०४ वर्षीय जहानीयाँ राणा शासनका विरुद्धको आन्दोलका सहिद हुनु भएका क. पुष्पलाल श्रेष्ठका दाइ गंगालाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरीमा पुष्पलाल र गंगालालको प्रतिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अनावरण गर्नुभयो ।

उक्त महान् कार्यमा रामेछाप नगरपालिकाका मेयरको महत्वपूर्ण सहयोग रहेको र उक्त कार्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य अशोक सुवेदीको महत्वपूर्ण संयोजन रहेको थियो । उक्त कार्यक्रममा पुष्पलाल श्रेष्ठ अध्ययन प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रदेश ५ को भालुवाङमा जनसभा सम्पन्न

हाम्रा सहकर्मी रवि पाण्डेले दिएको जानकारी अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश पाँच नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ ।

सभा अघिमा दर्जनौ बसहरु प्रयोग गरेर आएका हजार बढी श्रमजिवीहरुले सक्रिय सहभागिता जनाउदै संसदीय ब्यवस्थाको बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरे ।

सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदी, अर्का कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङ सचिवालय सदस्य टिकाराम पौडेल, बिद्यार्थी नेता दीपक बिष्ट, नेकपा (मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले मन्तब्य राख्दै क्रान्तिकारीहरु एकताबद्ध हुँदै सर्र्वहारावर्ग माथि भएका शोषण दमन अन्त्य गर्ने उद्घोष गर्नुभयो ।

जनसभामा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहोराको अध्यक्षता, सचिवालय सदस्य तथा प्रदेश सह संयोजक निरज केसीको संचालन र पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले कविता वाचन तथा जनसांस्कृतिककर्मी जयफूल्लाह हसनकले गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश १ को इटहरीमा जुलुससहित जनसभा सम्पन्न

हाम्रा सहकर्मी अप्सरा बानियाँले पठाएको समाचार अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नम्बर प्रदेश संगठन समितिले भव्य रुपमा ३५ औँ जनआन्दोलन दिवस मनाएको छ । चैत २४ गते ऐतिहासिक जनआन्दोलन दिवस मनाउन नारा जुलुश सहितको र्याली निकालेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुनसरी जिल्लाको इटहरी शहरलाई परिक्रमा गरी म्याजिक स्टेसन पुगेर सभा गरेको थियो ।

उक्त सभाको प्रमुख अतिथी पार्टीका सल्लाहाकार समितिका सह—संयोजक कमल चौधरीले समानुपातिक र आत्मनिणर्यको अधिकार सहितको संघियजनगणतन्त्र ल्याउनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी आन्दोलनमा होमिएको बताउनु भयो ।

सोहि सभामा बोल्दै पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा मजदुर संगठनका केन्द्रीय संयोजक दिनेश शर्माले २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्दै ३५ औँ जनआन्दोलन दिव भव्य रुपमा मनाउनुको छुट्टै अर्थ र महत्व रहेको बताउनु भयो । उहाँले विगतका आन्दोलनहरुबाट भएका धोका र कमजोरीहरुबाट पाठ सिक्दै संघीय जनगणतन्त्रको लागि आन्दोलनको तयारी गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनआन्दोलन दिवस देशैभरि भव्य रुपमा मनाएको स्पष्ट पार्नु भयो । उहाँले सबै नेपालीको हितमा रहेको संघीय जनगणतन्त्र स्थापना गर्नका लागि एकपटक जनविद्रोहमा उत्रिन सबैलाई आह्वान समेत गर्नुभयो ।

यसरी नै सभामा पार्टीका केन्द्रिय सदस्यद्वय अम्बिका रेग्मी ,अमर परियार र पार्टीका केन्द्रिय सल्हाकार समिति सदस्य पारसले जनआन्दोलनको महत्व र आवश्यकताबारे धारणा राख्नु भएको थियो ।

सभामा पार्टीका सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक नरेश, पार्टीका सचिवालय सदस्य तथा मोरङ्ग इन्चार्ज बिमल निरौला, सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहन तामाङ्ग, सचिवाल सदस्य सागर लिम्बु र प्रदेशमा रहेका केन्द्रिय सदस्य तथा पार्टीका केन्द्रिय सल्लाहाकार सदस्यहरुको उपस्थिति रहेको थियो ।

सभामा जनवादी तथा देशभक्तिपुर्ण गीत तथा नृत्य प्रस्तुत गरेर जनवादी कलाकारहरुले मनोरञ्जन दिलाउनु भएको थियो भने यसै सभाको अवसर पारेर दलाल सत्ताले विनाकारण हिरासतमा राखेर रिहाई गरेका तीनजना कमरेडहरुलाई स्वागत तथा अभिनन्दन गरिएको थियो ।

सो सभाको अध्यक्षता पार्टीका कार्यालय सदस्य तथा प्रदेश १ का इन्चार्ज/संयोजक निर्मलले गर्नुभएको थियो । सभाको संचालन पार्टीका सचिवालय सदस्य तथा प्रदेश सह—संयोजक सरलले गर्नु भएको थियो भने सचिवालय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।

पोखरामा पनि भव्य जनसभाको आयोजना

हाम्रा सहकर्मी नारायण अधिकारीले दिएको जानकारी अनुसार क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखराको पृथ्वीचोकमा ३५औ जनआन्दोलन दिवसको सन्दर्भमा जनसभा कार्यक्रम सम्पन्न गरियो ।

४ नम्बर प्रदेश संयोजक अशोक लम्साल ‘अनुकुल’को अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रमका प्रमुख वक्ता प्रदेश इञ्चार्ज बाबुराम गजमेर ‘आजाद’ र अन्य वक्ताहरुमा पार्टी केन्द्रिय सचिवालय सदस्य डम्बर बिश्वकर्मा ‘मामा’ र ४ नम्बर प्रदेश युवा इञ्चार्ज अनन्त केसी हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चाल ४ नम्बर प्रदेश सह—संयोजक केश बहादुर परियारले गर्नु भएको थियो ।

मधेसको जनकपुरमा जनसभा सम्पन्न

३५ औं जनआन्दोलन दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेस प्रदेशको आयोजनामा मधेस प्रदेशको जनकपुरमा जनप्रर्दशन तथा जनसभाको आयोजना गरियो । जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक कृष्णदेवसिंह दनुवार, वाम बुद्धिजीवी रोशन जनकुपरी लगायतका वक्ताहरुले २०४६ साल चैत्र २४ को जनआन्दोलनको क्रान्तिकारी सारतत्वको विषयमा चर्चा गर्दै सम्झौता, धोका र गद्दारीबाट पाठ सिक्दै देश र जनताको हितमा निरन्तर क्रान्तिको उद्घोष नै चैत्र २४ को मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।

कैलालीको अत्तरियामा पनि र्यालीसहित जनसभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ७ को आयोजनामा कैलालीको अत्तरियामा विशाल र्यालीसहितको जनसभा सम्पन्न भएको छ । जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज गुणराज लोहनीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभएको थियो ।

प्रदेश ७ मा अन्तरक्रिया कार्यक्रमको आयोजना

हर्कबहादुर शाहीको स्मृति दिवस समेतको सन्दर्भमा हर्कबहादुर शाही स्मृति फाउन्डेसनले चैत्र २६ गते “जनआन्दोलन दिवस र कम्युनिस्टहरु” शीर्षकमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणलाई प्रमुख वक्ताको रुपमा निम्त्याइएको उक्त कार्यक्रममा अन्य प्रवुद्ध व्यक्तिहरुलाई समेत निम्त्याइएको छ । सो कार्यक्रममा लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटरले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य दिपक शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।