0 COMMENTS

चैत १८, काठमाडौँ । विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियू), समन्वय समिति- नेपालको आयोजनामा विचार गोष्ठी तथा र्‍याली सहित “प्यालेस्टाइन भूमि दिवस” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले प्यालेस्टाईनी जनताको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै प्यालेस्टाइनमा जारी युद्ध अन्त्यको माग गरेको छ ।

विचार गाेष्ठी कार्यक्रमकाे अध्यक्षता गर्दै विश्व ट्रेड युनियन महासंघका प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयाेजक प्रेमलकुमार खनालले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । ‘साम्राज्यवादी अमेरिकाकाे उक्साहट र सहयोगमा इजरायली सरकारले प्यालेस्टाइनी जनताको नरसंहार गरेको छ । यो निकै दु:खद र निन्दनीय  घटना हो । प्यालेस्टाईनी जनता माथि इजरायलले गरेको वमवर्षा, नाकावन्दी र भौतिक पूर्वाधार तहसनहसको जति निन्दा गरे पनि पुग्दैन । हामी नेपालका श्रमजीवीहरु प्यालेस्टाइनी जनताको आन्दोलनको पक्षमा छौं र प्यालेष्टाईनमा ईजरायलबाट भईरहेको नाकाबन्दी, हिंसा र नरसंहार अन्त्य गर्न , प्यालेस्टाइनकाे अतिक्रमित भूमि फिर्ता गर्न माग गर्दछौं ।’ यसैगरी कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य परि थापा, परराष्ट्रविद तथा रुसकालागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, वामबुद्विजीवी डा. श्रीधर गौतमले प्यालेस्टाइन क्षेत्रमा इजराय‌लले गरिरहेको नरसंहारको विरोध सहित त्यहाँको युद्ध स्थितिबारे चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा प्यालेस्टाइन र त्यहाँका जनताको स्थितिबारे चर्चा गर्दै प्रमुख वक्ता परि थापाले प्यालेस्टाइनका जनताले आजसम्म सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्र राष्ट्रको रुपमा अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्न नसकेको बताउनुभयो । ‘प्यालेस्टाइनका जनताले आजसम्म सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्र राष्ट्रको रुपमा अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्न सकेका छैनन, त्यहाँका जनताले राज्य राष्ट्र प्राप्त गरेका छैनन । यो नै उनीहरुको मुख्य दु:ख हो ।’ त्यसैगरी विशेष अतिथि परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले इजरायलले प्यालेस्टाइन भूमि प्यालेस्टाइन जनतालाई फिर्ता गर्नुपर्ने बताउनुभयो । ‘प्यालेस्टाइन भूमि प्यालेस्टाइन जनतालाई फिर्ता गर ! हामीले अमेरिकी साम्राज्यवाद र इजरेलि विस्तारवादले प्यालेस्टाइन माथि गरेको हमलाको विरोध गरेका छौं । प्यालेस्टाइन जनताको संघर्षमा हाम्रो ऐक्यबद्धता छ । हाम्रो ऐक्यबद्धता विश्व शान्तिका लागि हो ।’

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका  अध्यक्ष दिनेश शर्मा, पेसागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, नेपाल ट्रेड यूनियन फेडरेशनका संयोजक मधु विसी, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन  महासंघ नेपालका महासचिव रामेश्वर श्रेष्ठ, अखिल नेपाल ट्रेड यूनियन महासंघका – पुरुषोत्तम कार्की, ट्रेड यूनियन इन्टरनेशनल पब्लिक सर्भिस एलाईड -आर्थिक  नियन्त्रण कमिटी  सदस्य हरि रावलले प्यालेस्टाइनी जनताको आन्दोलन प्रति ऐक्यवद्द‌ता प्रकट गर्दै इजरायल सरकारले गरिरहे‌को युद्ध र नाकावन्दी अविलम्व अन्त्य गर्न माग गरेका थिए ।

कार्यक्रमकाे सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सह संयोजक वसन्त बाेगटीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।