0 COMMENTS

चैत ७, काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुशी दिवस । आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ। यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो । जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ ।

सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाए । त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ ।

खुशी हुने केही टिप्सहरू । जसको सहयोगमा तपाई खुशी रहन सक्नुहुनेछ ।

आफूसँगै रमाउन सिकौँ

आफैसँग कसरी रमाउने भन्ने प्रश्न गर्नुहोला । तर हामी कतिपय अवस्थामा यतिधेरै मानिसकै बीच उल्झिन्छौं कि आफूलाई नै बिर्सन्छौं । त्यसो गर्दा धेरै तनाव हुन सक्छ ।

त्यसैले आफैसँग रमाउने र आफूलाई एक्लो हुँदा के गर्दा खुशी मिल्छ त्यो गर्ने गर्नुपर्छ । वास्तवमा तपाईं आफूलाई जति माया गर्नुहुन्छ सायदै अरु कसैले तपाईंलाई गर्छ होला । जसलाई माया गरिन्छ त्यसलाई खुशी पार्न खोज्छौं हामी ।

त्यसैले यो कुरा भुल्नु हुँदैन हामी आफूलाई पनि माया गर्छौं र आफैमा खुशी रहन सिक्नुपर्छ ।

मानिसहरूको कुरामा धेरै ध्यान नदिनुहोस्

अरुको कुरा धेरै सुन्नुहुँदैन । विशेषगरी नकारात्मक सोंच राख्ने खालका व्यक्तिका कुरा, निरासाजनक सम्वादबाट आफू टाढा रहनु पर्दछ ।

जीवनमा धेरै कुरा आफूले नै निर्णय गर्नुपर्दछ । अरुको केही सल्लाह लिन सकिन्छ तर हरेक कुराको निर्णय अरुबाट नै गर्न खोज्दा तपाईंले के चाहनुभएको छ त्यो पाइँदैन ।

जसले गर्दा तपाईं स्वयंलाई नै तनाव हुन्छ । त्यसैले अरुको अनावश्यक कुरा कम सुनौं र आफ्नो अन्तरमन तथा रुचिलाई ध्यान दिऔं ।

वर्तमानमा जिउन सिकौँ

हिजोआज साना साना बच्चालाई पनि पढाईमा धेरै नम्बर कसरी ल्याउने र राम्रो जागिर कसरी पाउने भन्ने चिन्ता हुन्छ । जागिर भयो भने फेरि बढुवा वा माथिल्लो तहमा जाने तनाव ।

हामीले आफ्नो राम्रो भविष्यको लागि सोंच्नु गलत त होइन तर भविष्यकै धेरै चिन्ता गर्दा गर्दै हामी वर्तमानलाई बिर्सन्छौं । जीवन कति लामो वा छोटो छ कसैलाई थाहा हुँदैन ।

तपाईं वर्तमानमा खुशी हुन सक्नुपर्छ । त्यसपछि भविष्य आफै राम्रो बन्दै जान्छ । वर्तमानलाई सुधार्न सक्नुभएन भने भविष्यको मात्र चिन्ताले तपाईंलाई अनावश्यक तनाव बाहेक केही दिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।