0 COMMENTS

फागुन ३०, काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । गठबन्धनका दाहालले ३९ मत पाउँदा शर्माले १७ भोट पाए ।

दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको नाता जोडेर केही टिकाटिप्पणी पनि भए । प्रचण्ड र नारायण दाहाल सहोदर भाइ नभएर हजुरबुबाहरु दाजुभाइ रहेको नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ बताउँछन् । दीपशिखाका अनुसार प्रचण्डका हजुरबुबा नरपति जेठा हुन् भने नारायण दाहालका हजुरबुबा पुनराम दाहाल माहिला हुन् ।

नारायण दाहालले पनि आफू प्रचण्डको भाइ भएकै कारण जिम्मेवारी नपाएको भन्दै पार्टीमा गरेको योगदान अवमूल्यन नगर्न आग्रह गरेका छन् । सोमबार उम्मेदवारी दर्तापछि भनेका थिए, परिवारवादको कुराले सुन्दा मेरो कान पाकिसके । मुख थाकिसके । म ०६३ सालमा अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ । त्यो बेलादेखि नै मैले कुनै जिम्मा लिन पर्दाखेरि जुन ढंगले यो पार्टीमा योगदान दिएँ ।उनले पार्टीमा ०३६ सालदेखि पूर्णकालीन सदस्यता लिएर काम गरेका थिए । अहिले प्रचण्डकै भाइ भएको कारणले बागमती प्रदेशको इन्चार्ज हुनबाट रोकेकोप्रति पनि गुनासो गरे । उनले थपे, ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दाखेरि दाइ हिँडेको छ, तँ हिड्नु हुन्न भन्न किन आएनन् ? अहिले पाउँदैन जिम्मेवारी भन्नेले दाइ युद्धमा हिँडेको छ, तँ किन हिँडेको, मिल्दैन भनेर कसैले भनेन। त्यो बेला एक दिन ढिला भयो भने आफ्नालाई बचाउन भन्ने कुरा आउँथ्यो । यसमा मेरो धेरै भन्नु छैन ।’

को हुन् दाहाल ?

दाहालको जन्म २०१२ फागुन १२ गते कास्कीको ढिकुरपोखरी लेवाडेमा भएको हो । २०१९ सालमा कास्कीबाट बसाइ सरेपछि भरतपुर महानगरपालिका–१४, चितवनको स्थायीवासी हुन् । उनका माता देउरुपा हुन् भने पिता कुलप्रसाद दाहाल । पत्नी दुर्गादेवी हुन् । उनका १ छोरी, २ छोरा र ६ नातिनातिनी रहेका छन् । २०३० सालमा नारायणी विद्यामन्दिर चितवनबाट एसएलसी पास गरेका दाहालले २०३३ सालमा प्रमाणपत्र तह र २०३६ सालमा स्नातक सानोठिमी क्याम्पसबाट गरेका हुन् । वि.सं. २०२७ सालमा विद्यार्थी राजनीति थालेका दाहाल ३६ सालदेखि पूर्णकालीन भए । उनको संसदीय यात्रा ०६३ अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ संविधानसभा सदस्य (चितवन क्षेत्र नं. ३ बाट निर्वाचित), ०७८ चैत राष्ट्रियसभा सदस्य हुँदै मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको जिम्मेवारी निभाएका थिए ।

कहिले कुन जिम्मेवारीमा रहे ?

. वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश ।

. वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह) । वीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध ।

. २०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)

. २०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा । अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष । पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी ।

. २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव ।

. २०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष ।

. २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य ।

. २०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष ।

. २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य ।

. २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज ।

. २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज ।

. २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह–इन्चार्ज ।

. २०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष ।

. २०७७ सालमा नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष ।

. २०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह–इन्चार्ज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।