असार १, काठमाडौँ । मनसुन सँघारमा छ, खासगरी मुख्य खाद्यबाली धानको खेती गर्ने किसान यसैको पर्खाइमा छन् । तर मनसुन किसानका लागि सकाल लिएर मात्र भित्रिँदैन, कतिपय क्षेत्रमा विपद् पनि ल्याउँछ । हरेक मनसुनमा कहीँ न कहीँ बाढीपहिरो आउँछ, कतै डुबान हुन्छ । बर्खामा जनधनको क्षति हाम्रो नियमित नियति बनेको छ । तर विपद् प्राकृतिक भए पनि हामीले पर्याप्त होसियारी अपनाउन सक्यौं र प्रतिकार्यको तयारी बेलैमा गर्यौं भने जनधन क्षति न्यूनीकरण हुन सक्छ जसमा हामी सधैं चुक्दै आएका छौं ।
गएको वर्ष जेठ ३२ मा मनसुन भित्रिएको थियो । यो वर्ष पनि मनसुन सुरु भैसकेको छ । पोहोरको १२४ दिने मनसुनको समयमा विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । गत वर्ष पूर्वी भागबाट भित्रिएको मनसुन देशभर नफैलिँदै ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोले धनजन क्षति गरेको थियो । २०७९ मा जेठ २२ मै मनसुन भित्रिएको थियो । त्यतिबेला पनि मनसुन देशभर नफैलिँदै बाढीपहिरोले जनधन क्षति गर्न थालिसकेको थियो । २०७८ सालमा मनसुनको सुरुवातीताकै सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीमा बाढीपहिरोले कैयौंको ज्यान लियो, सयौंलाई उठीबास लगायो । मनसुनको यो प्रवृत्तिले सुरुवातमै विपद् आउने गरेको देखाउँछ ।
यसपालि मनसुनमा मुलुकका अधिकांश भागमा सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनमा ४ लाख १२ हजार घरधुरी प्रभावित हुने आकलन गरेको छ । त्यसमा ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र तीमध्ये १८ हजार परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ । यो वर्ष मनसुनजन्य विपद्बाट सबैभन्दा बढी कोशी प्रदेशमा १ लाख १३ हजार ३ सय ५३ घरधुरीमा प्रभाव पर्ने अनुमान छ । त्यसमध्ये २२ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने आकलन छ ।
भारी वर्षाले केहीबेरमै पहिरो जाने कमजोर भूबनोट भएका क्षेत्र धेरैतिर छन् । जथाभाबी डोजर लगाएर सडक खनिएका कारण पहिरोको जोखिम थप बढेको छ । गत कात्तिकको भूकम्पले सुदूरपश्चिम र कर्णालीका ३ सय स्थानमा धाँजा फाटेको छ । पहाडबाट पहिरो सोहोरिएर नदी–खोलामा बग्दा किनाराका बस्ती बग्न सक्छन् । तराई–मधेशमा डुबानको डर छ । पानीको बहाव छेकिने गरी भारतले पारिपट्टि सडक, रेलमार्ग र बाँध बनाएका कारण सीमावर्ती विभिन्न बस्तीका बासिन्दा बर्खा लाग्नासाथ डुबानको त्रासमा हुन्छन् । यस्तो क्षतिको पूर्वानुमान भए पनि गम्भीर तयार नगर्ने प्रवृत्ति घातक बन्दै आएको छ ।
सरकारले हरेक वर्ष मनसुनजन्य विपद् भइहाले राहत, उद्धारजस्ता प्रतिकार्यका लागि योजना बनाउने गरेको छ । तर त्यसको प्रभावकारी कार्यान्वयनमा सधैं प्रश्न उठ्दै आएको छ । खासगरी अन्तरनिकाय समन्वयमा समस्या देखिने गर्छ । कुनै क्षेत्रमा विपद् भइहाले सबैभन्दा पहिले सूचना पाउने, विपद्स्थल पुग्ने र राहत एवं पुनःस्थापनामा पनि प्रभावकारी भूमिका खेल्न सक्ने राज्यको निकाय स्थानीय तह हो । तर विपद् प्रतिकार्यका लागि स्थानीय सरकारलाई स्रोतसाधनसम्पन्न बनाउनेतर्फ ध्यान पुगेको छैन । विपद् प्रतिकार्यलाई संघ सरकारले आफूमा केन्द्रीकृत गरिरहेको छ । विपद्पछि क्षतिपूर्ति वितरण र पुनःस्थापनाका लागि लम्बेतान प्रक्रियाले पीडितहरू थप समस्यामा गुज्रनुपर्ने अवस्था छ । विपद् प्रतिकार्यको वर्षौं लामो अनुभवपछि पनि पाठ सिकेर प्रक्रियालाई सरलीकरण बनाउन राज्यले नसक्नु उदेकलाग्दो छ ।
मनसुनजन्य विपद्बाट मानवीय क्षति हुन नदिन प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड दिनुपर्छ । जल तथा मौसम विज्ञान विभागले मनसुनमा बाढीको अनुमान गरेर दिनहुँ सूचना जारी गर्दै आएको छ । पछिल्लो समय तीन दिनको मौसमी अनुमान गरेर हरेक दिन बिहान र बेलुका ६ बजे बुलेटिन निकाल्ने गरिएको छ । विषम मौसमी अवस्थामा जुनसुकै बेला पनि बुलेटिन जारी हुन्छ । बाढीपहिरोको जोखिम आकलन गरिएको सूचना सम्बन्धित क्षेत्रका बासिन्दाकहाँ पुग्न सक्नुपर्छ ।
सरकारले जोखिमयुक्त ३४ स्थानमा साइरन प्रणाली जडान गरेको छ । यस्तो प्रणालीको व्यापकताको खाँचो छ । बाढीपहिरोको सधैं जोखिममा रहेको बस्तीलाई स्थानान्तरण पनि गर्नुपर्छ । विपद्मा कोही परिहाले तत्काल उद्धार एवं राहत वितरणमा जुट्न सक्ने गरी संयन्त्रहरू तम्तयार राख्नुपर्छ । विपद्बाट विस्थापितलाई जतिसक्दो छिटो पुनःस्थापना गर्ने गरी राज्यले भूमिका निर्वाह गर्नुपर्छ । मनसुनजन्य विपद् बढी हुन नदिन जथाभाबी सडकजस्ता संरचना निर्माण, नदी–खोला दोहनजस्ता मानवीय क्रियाकलापको नियमन पनि जरुरी छ ।