0 COMMENTS

फागुन २४, काठमाडौँ । “महिला मुक्ति र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं ! क्रान्तिकारी ध्रुवीकरण निम्ति ११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं !!” भन्ने मूल नाराका साथ क्रान्तिकारी महिला संगठनले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने तयारी गरको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा संगठनले पार्टी कार्यालय कुपण्डोल कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको तयारीकै लागि संगठनले एक पर्चा समेत तयार पारेको छ । संगठनको केन्द्रीय समितिले तयार पारेको पर्चामा ‘महिलामाथि हुने सबैखाले हिंसा : अन्त्य गर !, पैतृक सम्पत्तिमा समान अधिकार : लागू गर !, समान कामको समान ज्याला : कायम गर !, महिला तथा बालिकाहरूको सुरक्षाको : ग्यारेन्टी गर !, सम्पूर्ण उत्पीडित महिलाहरू : एक होऔं !, क्रान्तिकारी महिला संगठन नेपाल : जिन्दावाद !, हिंसा पीडित महिलाहरूलाई पुनस्र्थापनाको : ग्यारेन्टी गर !, ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सफल पारौं !”

यस्तो छ पर्चाको पूर्णपाठ :-

“नेपाली समाज पित्तृसत्तात्मक सामन्ती मुलुक हो । जनसंख्याको आधा भन्दा बढी (५१.१३%) महिला रहेको नेपाली समाजमा महिलाले गर्ने श्रमकार्य संरक्षण, व्यवस्थापन र कृषिलाई हालसम्म पनि उत्पादनमूलक कार्यमा गणना नगरेको कारण ४२.९% महिला कुनै पनि आर्थिक कार्यमा सहभागी छैनन् भनी महिलाको भूमिका राष्ट्रिय योगदानमा समेत समावेश गरिएको छैन । चरम रूपमा बढ्दो भ्रष्टाचार, युवा जनशक्ति निर्यात (पलायन), महङ्गी, बेरोजगारी, कृषिजन्य वस्तु समेतमा परनिर्भरता, उद्योग कलकारखाना तथा घरेलु उद्योगहरू धरासायी बन्नु, कालाबजारी, उच्च कर वृद्धि, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज, मिटर ब्याजको आतङ्क आदिका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । स्थिति यस्तो भयानक र विष्फोटक बन्न पुगेको छ कि उद्यमिहरू एकपछि अर्को आत्महत्याको बाटो रोज्न बाध्य पारिएका छन् । देश वैदेशिक शक्तिकेन्द्रहरूको नाङ्गो नाचले कुरुक्षेत्र बन्दैछ । एमसीसीको कार्यान्वयन, भारतद्वारा अतिक्रमित नेपाली भूमि सहित राजनीतिक, आर्थिक, सांस्कृतिकमा भएको अतिक्रमणले मुलुकको राष्ट्रिय स्वाधीनता, सर्वभौमिकता र भौगोलिक अखण्डतामाथि गम्भीर खतरा उत्पन्न हुन पुगेको छ । यो सबै दलाल संसदीय व्यवस्था र दलाल शासकहरूको नाङ्गो दलालीको परिणाम हो । यही व्यवस्थाकै कारण सबै वर्ग, जाति, महिला, दलित लगायत उत्पीडित क्षेत्र र समुदायहरूका प्राप्त अधिकारहरू पनि खोसिने क्रममा रहेका छन् ।

स्थानीय तह हुँदै केन्द्रसम्म झण्डै सोह्र हजार महिला निर्वाचित छन् तर सीमित महिला बाहेक प्रायः किनाराका साक्षीमात्र बनाइएकोले यति ठूलो सङ्ख्यामा निर्वाचित महिला हुँदा पनि हिंसा नियन्त्रण र प्रभावकारी कानुन निर्माणमा कदम चालिएको छैन । अपराध नियन्त्रणका लागि कानुन कार्यान्वयन भन्दा पीडकलाई उन्मुक्ति दिइएका कारण अपराध बढ्दै गइरहेको छ । राज्यको यति धेरै संरचना हुँदा पनि देशव्यापी घटेका महिला हिंसा सम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने आधिकारिक निकाय समेत छैन । महिलामाथिको शोषणको मूल कारण एकल स्वामित्वमा आधारित पितृसत्तात्मक सामन्ती सामाजिक संरचना हो । जसका कारण समाजको आधाभन्दा बढी हिस्सा अनुत्पादक श्रममा कैद र दोस्रो दर्जाको नागरिक बनाइएको छ । पितृसत्तात्मक सामन्तवादले उत्पीडनका हजारौं जञ्जीर हरूमा कैद गरिएका महिलाहरूलाई दलाल पुँजीवादले विलासिता, विज्ञापनको साधन र भोग्य वस्तु बनाएर लुटिरहेको छ । सामाजिक उत्पादनमा महिला सहभागिता, समान कामको समान ज्याला, पैतृक सम्पत्तिमा समानाधिकार, सन्तानप्रति समान दायित्व, घरेलु श्रमको मूल्य निर्धारण, सुरक्षाको प्रत्याभुति, समान प्रतिस्पर्धाको निम्ति समान अवसर, राज्यका हरेक निकायमा प्रतिनिधित्व मात्र होइन नेतृत्व स्थापित गरेर मात्र महिलाले अधिकार र सम्मान प्राप्त गर्न सक्छन् ।

विगत एक शताब्दी अघि अमेरिकाको सिकागो शहरका कपडा मिलमा कार्यरत श्रमिक महिलाको सङ्घर्षद्वारा प्राप्त विजय र उत्सवसको दिन हो श्रमिक महिला दिवस । सन् १९१० देखि महिला नेतृ क्लारा जेट्किनको नेतृत्वमा डेनमार्कको कोपनहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको निर्णयबाट मनाउन सुरु गरिएको यो दिवस महिला मुक्ति आन्दोलनका निम्ति भएका सङ्घर्ष र बलिदानको सम्मान गर्नुको साथै नेपाली महिला मुक्ति आन्दोलनका निम्ति अघि बढ्ने प्रतिबद्धता गर्नु पनि हो । यस वर्षको आठ मार्च (२०८० फाल्गुन २५) काठमाण्डौको शान्ती वाटिकामा केन्द्रित र देश व्यापी रुपमा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन गइरहेका छौं ।

हामी क्रान्तिकारी महिलाहरूले आठ मार्च मनाउनु भनेको महिला मुक्ति आन्दोलनको इतिहासमा योगमाया न्यौपानेदेखि थुप्रै न्यायपूर्ण आन्दोलनमा बलिदान गर्ने महिलाहरूका साथै महान् जनयुद्धका क्रममा उच्च बलिदान गर्ने दिलमाया योन्जन, कुमारी बुढा, कमला भट्ट लगायत २५०० भन्दा बढी महिला सहिदहरू, सयौं बेपत्ता योद्धाहरू, घाइते, अपाङ्ग योद्धाहरूको उच्च सम्मान गर्नुका साथै सहिदका सपना पूरा गर्ने प्रतिबद्धता गर्ने दिन समेत हो । जन आन्दोेलन, महान् जनयुद्धमा प्रर्दशित महिलाहरूको त्याग, वीरता, बलिदान, ज्ञान क्षमता पुनः महिलामाथि हुने सबैखाले हिंसा विरुद्ध जागृत हुन जरुरी भइसकेको छ । त्यसै कारण हाम्रा लागि आठ मार्च प्रतिक्रान्ति र धोकाका विरुद्ध क्रान्तिको मशाल बाल्दै महिला मुक्ति आन्दोलन सुदृढ गर्ने योजनामा जुट्ने अवसरको दिन हो ।

आज देशै रहने कि नरहने, महिलाहरूले आफ्नै घर परिवारदेखि समाजमा निर्बाध बाँच्न पाउने कि नपाउने अवस्था बनाउने सामन्ती पितृसत्ता, दलाल संसदीय व्यवस्था, पुँजीवादी व्यवस्था विरुद्ध र जनगणतन्त्र प्राप्तिको निम्ति सम्पूर्ण उत्पीडित महिलाहरू एकताबद्ध भई सङ्घर्ष गर्नुको विकल्प छैन । यही निष्कर्षका साथ सङ्गठनको नीति, योजना र कार्यक्रमलाई अगाडि बढाउने लक्ष्य र उद्देश्यका निम्ति “महिला मुक्ति र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं ! र क्रान्तिकारी ध्रुवीकरण निम्ति ११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं !!” भन्ने मुल नाराका साथ ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश (आठ मार्च) सफल पार्न साथ र सहगोगका लागि सम्पूर्ण देशभक्त, मुक्तिकामी महिला, उत्पीडित जाति जनजातिहरू, दलित, मुस्लिम, मधेसी लगायत सम्पूर्णमा हाम्रो सङ्गठन हार्दिक अपील गर्दछ ।
नाराहरू :
महिलामाथि हुने सबैखाले हिंसा : अन्त्य गर !
पैतृक सम्पत्तिमा समान अधिकार : लागू गर !
समान कामको समाज ज्याला : कायम गर !
महिला तथा बालिकाहरूको सुरक्षाको : ग्यारेन्टी गर !
सम्पूर्ण उत्पीडित महिलाहरू : एक होऔं !
क्रान्तिकारी महिला संगठन नेपाल : जिन्दावाद !
हिंसा पीडित महिलाहरूलाई पुनस्र्थापनाको : ग्यारेन्टी गर !
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सफल पारौं !

क्रान्तिकारी महिला संगठन नेपाल
केन्द्रिय समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।