0 COMMENTS

फागुन २२, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले शहिद सुर्यबिक्रम थापा (सलिम) को शालिकमा माल्यार्पण गरेर बलिदान दिवस तथा शहिद सप्ताह–२०८० को समापन गरेको छ । शहिदस्मृति सामुदायिक अस्पताल विकास केन्द्र बर्दघाट–१४ चौपत्ताको प्रांगणमा रहेको शालिकमा सोमवार क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले माल्यार्पण गरेका हुन् । सो कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय , सहसंयोजक गणेश बहादुर ढकाल , बर्दघाट नगर संयोजक ज्ञान बहादुर केसी, क्रान्तिकारी युवा संगठनका जिल्ला संयोजक तरुण श्रीस मगरलगायतले सम्मान स्वरुप पुष्पगुच्छा तथा अबिर अर्पण गर्नुभएको थियो ।

शहिद सप्ताहलाई नेपालको क्रान्तिकारी आन्दोलनमा भएका शहादतका विभिन्न कडीहरूलाई जोड्ने महत्वपूर्ण सन्दर्भका रूपमा लिने गरिएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिन फागुन १४ गते (२०५२) देखि तत्कालीन झापा विद्रोहका पाँच शहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठले सहादत प्राप्त गरेको दिन फागुन २१ गते (२०२९ साल) लगायत नेपालको वर्गसङ्घर्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूको सम्मानमा हरेक वर्ष फागुन १४ देखि फागुन २१ गते सम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाउने गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ । बि.स.२०६० पौष १९ गते चितवनको जलबीरेमा तत्कालिन जनमुक्ति सेनाका बिग्रेड कमाण्डर सलिमले शहादत प्राप्त गर्नुभएको थियो । सलिमको शालिक सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्तीले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।