0 COMMENTS

फागुन १८, काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई आगामी बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाफ दिन निर्देशन दिएका छन् । शुक्रबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै विरोध जनाएपछि सभामुख घिमिरले फागुन २१ गते बस्ने बैठकमा सरकारलाई उपस्थित हुन रूलिङ गरेका हुन् ।

आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा लगायतका प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न दिएका थिए । थापाले बालकुमारी घटनाबारे संसदलाई जवाफ दिन सभामुखले पटकपटक रूलिङ गर्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको बताए ।

सरकारले जवाफ नदिएसम्म संसद अघि नबढ्ने उनले बताए । त्यसपछि राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बोलेका थिए । उनले मिटरब्याजी पीडित काठमाडौँ आएको, सहकारी पीडितहरू लामो समयदेखि आन्दोलनमा रहेकोदेखि लघुवित्त पीडिहरू संसद भवनभित्र सम्मै पुगेको र दूग्ध उत्पादक कृषकहरू सडकमै रहेको बताए । ती सबै विषयमा सरकार आँखा भएर पनि नदेख्ने, कान भएर नसुन्ने बहिरो भएर बसेको लिङ्देनले बताए ।

‘संसदमा हामी केबल आवाज उठाएर र कुरा गरेर मात्रै बस्ने यसको अर्थ हुँदैन । सरकारले ठोस जवाफ नदिएसम्म र सरकारको उपस्थिति संसदमा नभएसम्म संसद अगाडि बढाइराख्न कुनै अर्थ छैन,’ लिङ्देनले भने । त्यसपछि विपक्षी दलका सबै सांसदहरू उठे ।

सभामुख घिमिरेले ती विषयहरू आइसकेको र सरकारलाई निर्देशन गरिसकेकाले आसन ग्रहण गर्न आग्रह गरे। प्रतिपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख घिमिरेले फागुन २१ गते बस्ने बैठकमा सरकारलाई उपस्थित हुन रूलिङ गर्न भनेका हुन् । सभामुखको रूलिङपछि संसद बैठक अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।