0 COMMENTS

फागुन १४, काठमाडौँ । वित्तीय शोषणमा परेका नेपाली जनता विगत तीन वर्षदेखि आन्दोलित छन् । अहिले काठमाडौंमा दिनहुँ मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको आन्दोलन जारी छ । मिटरब्याजकै कारण आफूहरुको उठिबास भएको भनेर २८ जिल्लाका पीडित आन्दोलनमा उत्रेको ३ वर्ष भइसकेको छ । यसपटक ६ प्रदेशका सयभन्दा धेरै पालिका हुँदै हिँडेरै २३ दिनमा काठमाडौं आएर उनीहरु आन्दोलित छन् । मिटरब्याज पीडितहरुको आन्दोलन स्थलमा पुगेर शुक्रबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला, पार्टीका कार्यालय सदस्य दिनेश शर्मा सागर लगायतका नेताहरुले ऐक्यबद्धता जाहेर गरे । नेता धर्मेन्द्र बास्तोलाले मिटरब्याज पीडित लगायत सबै वित्तीय शोषणका विरुद्ध जारी आन्दोलनलाई आफ्नो पार्टीले काँधमा काँध कदममा कदमका साथ सहयोग गर्ने प्रतिबद्धतासहित ऐक्यबद्धता जाहेर गरेका थिए । नेता बास्तोलाले वित्तीय शोषणको अन्त्य गर्न अहिले दलाल पुँजीवादमा आधारित सबै बैंक वित्तीय संस्थाहरुको खारेजी गर्नु पर्ने र न्यूनतम ब्याजमा जनतालाई ब्याज दिने अर्थात् साँच्चै जनताको साथी बन्ने खालको व्यवस्थासहित नयाँ ढंगले बैंक वित्तीय संस्थाहरु खडा गरिनुपर्ने विचार पनि अघि सारेका थिए ।

२३ दिन हिडेर काठमाडौं आइपुग्दा मिटरब्याज पीडितहरुको खु्ट्टा सुन्निएका छन्, पट्पटी फुटेका छन् । चिसोको हिँडाइले सुन्निएको जिउ र उचित खानपान र बसोबासको अभाव सहेर उनीहरुले दैनिक रुपमा आन्दोलन जारी राखेका छन् । तर जारी आन्दोलनप्रति राज्य उदासिन बनेको छ । संवेदनाहीन बनेको छ । उल्टै सरकारले मिटरब्याजीहरुलाई नै संरक्षण गरिरहेको छ । पक्षपाती बनिरहेको पीडितहरुको गुनासो छ । यसैबीच न्यायको माग गर्दै आन्दोलनत मिटरब्याजपीडितका समस्या तत्काल सम्बोधन गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । २३ दिनको पैदलयात्रापछि दुई दिनअघि काठमाडौं आइपुगेका मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न सरकारले कुनै पहल नै नगरेको भन्दै सांसदहरुले आपत्ति जनाए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले मिटरब्याजपीडितका मागलाई बेवास्ता नगर्न आग्रह गरे । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न कानुन बनाएको भए पनि किन पीडितका माग सम्बोधन हुन सकेनन् भन्दै सांसदहरुले प्रश्न गरे । सांसदहरुले मिटरब्याजीहरुलाई सरकारले संरक्षण गरेको आरोपसमेत लगाए । यसैबीच, सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटर ब्याज पीडितहरू सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसेका छन् । शुक्रबार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका थिए । मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेका हुन् । उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए ।

सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले काठमाडौंमा पनि पैदलयात्रा गरेका छन् । बिहान थानकोटको त्रिभुवन पार्कबाट हिँडेका उनीहरू भृकुटीमण्डप पुगेका थिए । उनीहरुले दिनहुँ काठमाडौंमा मार्चापास गर्ने कार्यक्रम बनाएका छन् । यसअघि सरकारले गत चैतमा यसको जाँचबुझ गर्न आयोग बनाएको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आठ महिना अध्ययन गरेर सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको थियो ।

प्रतिवेदनअनुसार यस अवधिमा आयोगमा परेका करिब २८ हजार उजुरीमध्ये पाँच हजारमा मिलापत्र भइसकेको जनाएको थियो । बाँकी २३ हजार उजुरीको छिनोफानो गर्ने जिम्मा राज्यसँग बाँकी भए पनि अहिले पनि मधेसका जिल्लाहरुका स्थानीय निकायमा मिटरब्याजीहरुले बनाएका फर्जी तमसुकहरु दर्ता भइरहेको पीडितहरुको गुनासो छ । मिटरब्याज पीडितहरुले ३ लाख ऋण लिएकोमा १ करोड २० लाखसम्म पीडितहरुको जायजेथा कब्जा गरेका छन् ।

वित्तीय शोषका विविध रुप

१– सर्लाहीको चन्द्रनगर गाउँपालिका –३ बरकुर्वाकी चैनियादेवी बिन मुखियाले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएकी थिइन् । तर, साहुले मिटरब्याजी हिसाबले उक्त ऋणको ब्याज जोडेर ९ लाख ९५ हजारको तमसुक बनाएर हस्ताक्षर गराए । त्यसपछि उनी घरबिहीन भइन् । साहुले ९ लाख ९५ हजार बराबरको नौ धुर जग्गा लिए । चैनियादवीको घर पनि त्यही जग्गामा भएकाले घर र जग्गा दुबै साहुले कब्जा गरिदिए । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय पुगिन् । उजुरी दिइन् तर सुनुवाइ भएन । विन्दु चौधरी भन्ने साहुबाट पीडित चैनियादेवी घरबारबिहीन भएपछि सरकारसँग न्यायको माग गर्दै उनी काठमाडौंसम्म आइपुगेकी हुन् ।

२– धनुषाको धनुषाधाम नगरपालिका २ का जुगेन्द्र यादव पनि उस्तै समस्याबाट पीडित छन् । उनलाई साहुले दिनहुँ धम्क्याउने र तर्साउने गरेको बताउँछन् । ‘जग्गा राखेर ३६ प्रतिशत ब्याजदरले दुई करोड पाँच लाख रुपैयाँ तिरेको छु । पहिला तीन प्रतिशतमा लोन लिएको हो अहिले बढाएर १३/१४ प्रतिशत पुर्याएको छ’, उनी भन्छन् । ‘अहिले जग्गा बैंकले धमाधम लिलामी गरिरहेको छ । धम्क्याउने–तर्साउने गरिरहेको छ । दलालहरू घरमा पठाउँछ र धम्याइरहन्छ । एक लाखको पाँच पाँच लाखसम्म बनाएको छ,’ उनले दुखेसो सुनाए । पाँच लाख लिनेहरूको ३० लाख रुपैयाँसम्मका पुर्याएको, साहुलाई पटक पटक गर्दै ऋण दिइसक्दा पनि जग्गा फिर्ता नगरेको उनको भनाइ छ ।

यी प्रतिनिधिमूलक घटना मात्र हुन् । ऋणले बसिनसक्नुभएपछि जाजरकोट, सुर्खेत, कैलाली, डडेल्धुरालगायत धेरै जिल्लाका मानिस गाउँ नै छोडेर बेपत्ता भएका छन् । लघुवित्तले ब्याजलाई पनि साँवा बनाउने, समयमा ऋण फिर्ता नगरे भएका पशुपन्छी, जायजेथा जे भेटिन्छ त्यही असुल गर्ने र धम्काउन थालेपछि धेरै विपन्न परिवार गाउँ नै छोडेर भारततिर छिरेका छन् । लघुवित्तले गरेको चरम वित्तीय शोषणविरुद्ध पीडितले पटक–पटक काठमाडौंको सडकमा आएर पीडितहरुले आन्दोलन गरे पनि सरकारले त्यसको कुनै सुनुवाइ गरेको छैन ।

सुदखोरहरुले कमजोर आर्थिक अवस्था भएका वर्ग र समुदायलाई उच्च ब्याजदरमा ऋण दिने, किर्ते कागज बनाएर ठगी गर्ने मात्रै होइन, कुटपिट, हिंसा र महिलाहरुको शारीरिक शोषण समेत गर्ने गरेका घटनाहरु सार्वजनिक भएका छन् । सोझासिधा जनतालाई झुक्याएर वा परिबन्दमा पारेर सुदखोरले अत्यधिक चर्को ब्याजदरमा ऋण दिएका छन् । यति मात्रै होइन, चर्को ब्याजलाई पुनः साँवामा जोड्ने, जमिन दृष्टिबन्धक राख्ने, ऋण तिरिसक्दा पनि जमिन फिर्ता नहुने र उल्टै कानुनी रूपमा सुदखोर बलियो हुने गरी कागजमा ल्याप्चे लगाउन बाध्य पार्ने चरम शोषणको चक्रमा गाउँगाउँका जनता फसेका छन् । विशेषगरी मधेसका जिल्लाहरुमा मिटरब्याज पीडितहरुको समस्या विकराल देखिन्छ भने लघुवित्त र सहकारीका पीडितहरु देशैभर रहेको देखिएको छ ।

सहकारी संस्थाले हजारौं जनताको आँसु र पसिनामाथि चरम लुट मच्चाइरहेका छन्  । सहकारी सञ्चालकहरुको वित्तीय अराजकता र भ्रष्ट प्रवृत्तिका कारण हजारौं बचतकर्ताको रकम डुब्न पुगेको छ । भ्रष्ट, बिचौलिया, दलालदेखि राजनीतिक नेतृत्वसम्म सहकारीका बचतकर्ताको रकम हिनामिनामा संलग्न देखिएका छन् । त्यसैले सहकारीपीडितको ठूलो समूह पनि सडक संघर्षमा छ ।

चैतबाट विशाल आन्दोलनको तयारी

तीनै किसिमका वित्तीय शोषणका पीडितहरुले चैत्रबाट लाखौ जनतालाई काठमाडौंको सडकमा उतारेर सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् । त्यसको लागि तयारी पनि गरिरहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पनि पीडितहरुको त्यो आन्दोलनलाई सफल पार्न सशक्त भूमिका निर्वाह गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।