0 COMMENTS

फागुन ७, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले भष्ट्रचार एवं कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुदें माग पत्र पेश गरेको छ ।

आइतबार सो पार्टीको सुनवल नगर संगठन समितिले नगर प्रमुख बिमला अर्याल समझ नगरपालिका क्षेत्र भित्रका बिभिन्न समस्या सहितको २१ बुदें ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहीन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको पार्टीका नगर संयोजक रवि पुनले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने, विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न , सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाईनुपर्ने, भुमिहीन तथा सुकुम्बासीका जग्गा पटक पटक नापी मात्र गर्ने नभई निर्वाचनमा बाचा गरे अनुसार यथाशिघ्र लालपुर्जाको ब्यवस्थापन गर्नुपर्ने, सार्वजनिक जग्गा मिचेर गरिएका जग्गा प्लटिङ यकिन गरेर उक्त जग्गा पालिका मातहत ल्याइनुपर्ने, थान प्रसाद गैरे लगायत बिभिन्न ब्यक्तिले हडपेको जनसेवा माविको जग्गा फिर्ता गराइनुपर्ने,जोताहा किसानहरुलाई दशकौं वर्षदेखि जोतभोग गरिएको जमिन सम्बन्धित जोताहा किसानलाई विना शर्त उपलब्ध गराईनुपर्ने लगायत माग छन् ।

त्यस्तै बित्तीय अपराधका रुपमा मौलाएका मिटरव्याजीहरुलाई कारर्बाही गरेर पीडितलाई न्याय प्रदान गर्नुपर्ने, साना तथा मझौला उद्योगहरुलाई प्राथमिकतामा राखेर बैक ब्याजदर सर्बसुलभ बनाउन पहल गर्नुपर्ने , सरकारी कर्मचारी र जनप्रतिनिधिहरुका सन्तान सामुदायिकमा पढाउने अभियान ब्यवहारबाट नै कार्यान्वयन गर्दै सरकारी कर्मचारी, जनप्रतिनिधि तथा राजनीतिकर्मीका लगानी भएका नीजि विद्यालयहरु बन्द गर्नुपर्ने, विषयगत र तहगत दरबन्दी ब्यवस्थापन सहित शिक्षक सरुवा, बढुवा प्र.अ नियुक्तिलाई दलीय भागबण्डा नभई योग्यता क्षमताका आधारमा निष्पक्ष बनाउनुपर्ने, निजी बिद्यालयलाई अनुगमन गर्दै बिद्यालयले नियमानुसार छात्रबृति प्रदान गरे÷नगरेको यकिन गरेर नियमन गर्नुपर्ने, युवा तथा खेलकुद क्षेत्रलाई बिशेष महत्वका साथ बजेट बिनियोजन गर्नुपर्ने माग समाबेश गरिएको पार्टीले जनाएको छ ।

त्यसैगरी, ज्ञापन पत्रमा कृषि क्षेत्रका माग समेत समेटिएको संयोजक पुनले जानकारी गराउनुभयो । उहाँका अनुसार कृषि उत्पादनमा आत्मनिर्भर हुन प्रत्येक वडाहरुमा कम्तीमा १ वटा उत्पादन पकेट क्षेत्रहरु व्यवस्थित ढंगले निर्माण गर्न , कृषकलाई मलबीउ तथा सिंचाईको उचित ब्यवस्थापन गर्दै अनुदानको पारदर्शी वितरण गर्न, भारतबाट आयात हुने बिषादीयुक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, माछा, मासु र दुधजन्य आयातमा रोक लगाउन समेत माग गरिएको छ । त्यसैगरी “सबै श्रमिक मालिक”को नीति अन्तर्गत राष्ट्रिय उद्योग निर्माण गर्ने नीति अवलम्बन गर्दै २०८३ साल भित्र कम्तिमा १ वटा पूर्ण सरकारी र एउटा ४९ प्रतिशत जनताको स्वामित्व भएको उद्योग स्थापना गर्न , जनपक्षीय पत्रकारितालाई बढावा दिएका साना तथा स्वरोजगारमुलक स्थानीय संचारमाध्यमलाई समानुपातिक रुपमा बिज्ञापन तथा कार्यक्रम प्रदान गर्न समेत माग गरिएको पार्टीले जनाएको छ ।

ज्ञापन पत्रमा मागहरु पूरा नभए कडा संर्घषका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिईएको छ । राष्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर सो पार्टीका प्रदेश सदस्य तथा जिल्ला सहसंयोजक एंव नगर इन्चार्ज गणेशबहादुर ढकाल र पार्टीका सुनवल नगरपालिका संयोजक रवि पुन , जिल्ला समिति सदस्य चन्द्रमान मानन्धर, नगर संगठन समिति सदस्य हर्क बहादुर श्रेष्ठ , बाबुराम विश्वकर्मा , मुक्तिनाथ बस्यालको अगुवाईमा टोली सुनवल नगरपालिकाको मुख्यालयमा पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय , अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा लगायतको बिशेष उपस्थिति थियो ।

टोलीलाई सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालले धेरै मागहरु पालिकाको नीति कार्यक्रममा समाबेश रहेको बताउदै केही मागहरु यथाशिघ्र पुरा गर्ने प्रतिबद्धता राख्नुभएको थियो । उहाँले बेला बेला यस्ता माग राखेर जनप्रतिनिधिहरुलाई सचेत बनाउनुपर्ने जिकिर गर्दै नदीजन्य पद्धार्थको दोहन अन्त्य गर्न आफू लागि परेको दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।