0 COMMENTS

पुस २७, काठमाडौँ ।  नेपाली कम्युनिस्ट आन्दोलनका एकजना सुपरिचित अग्रणी नेता कमरेड भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइएको छ । भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले उहाँको बहुआयामिक व्यक्ति र नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदानको बारेमा विशेष चर्चा गर्नुभएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य तथा भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष सीपी गजुरेलले भक्तबहादुर श्रेष्ठले कहिल्यै पनि पार्टीको क्रान्तिकारी लाइनका विषयमा कसैसँग सम्झौता नगरेको र यो नै सबैले कम्युनिस्ट क्रान्तिकारीहरुका लागि अनुकरणीय गुण रहेको बताउनु भयो । किसान आन्दोलनबाट स्थापित नेता श्रेष्ठ साधारण लेख पढ भएको व्यक्ति भएर पनि मार्क्सवादका तीनवटै संघटक अंगको विषयमा अद्भूत ज्ञान हासिल गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “उहाँले माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तलाई अध्ययन गरेर पचाएर विचार र राजनीतिको क्षेत्रमा निकै महत्वपूर्ण लेखहरु लेख्नुभएको छ । उहाँका योगदानलाई जनतासम्म पुर्याउन आगामी दिनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

उहाँले समसामयिक विषयमा बोल्दै अहिले नेपाली राजनीतिमा तीनवटा धाराहरु यथास्थितिवादी, प्रतिगामी र अग्रगामी/क्रान्तिकारी धारा (जनगणतन्त्रवादी) विद्यमान रहेको भन्दै अग्रगामी र क्रान्तिकारी धाराको नेतृत्व क्रान्तिकराी कम्युनिस्ट पार्टी, नेपालले गरिरहेको स्पष्ट पार्नुभयो । अहिले यथास्थितिवादीहरुले जनगणतन्त्रवादीहरुलाई घेराबन्दबी गरेको चर्चा गर्दै अहिले कमजोर जस्तो देखिए पनि विजयी हुने राजनीतिक लाइन (धारा) यही नै भएको दाबी गर्नुभयो ।

भारतीय दूताबासलाई २० करोड आफूखुशी बाँड्ने सम्झौता गरेर विकास निर्माणको नाममा दलालहरु खडा गर्ने र देशलाई पूर्ण उपनिवेश बनाउने षड्यन्त्र भइरहेको बताउनु भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनतालाई आशावादी बनाउन कार्यनीतिक श्रृङ्खला तयार पारेको स्पष्ट पार्दै राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, जनप्रतिरोध संघर्ष, सरकार गठन र जनसंविधान निर्माण नै विद्यमान राजनीतिक संकटको सही निकास र उपयुक्त विकल्प भएको स्पष्ट पार्नुभयो ।

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले अतितप्रति अनुग्रहित, वर्तमानप्रति निष्ठावान र भविष्यप्रति पथप्रदर्शक बन्ने शिक्षा नै कमरेड भक्तबहादुर श्रेष्ठबाट लिनुपर्ने बताउनु हुँदै भक्तबहादुर श्रेष्ठका योगदानलाई वैचारिक पुँजीका रुपमा संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी भक्तबहादुर श्रेष्ठसँगका सहकार्यका रोचक प्रसंगहरुको बारेमा चर्चा गर्दै पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले भक्तबहादुर श्रेष्ठमा कहिल्यै पनि पद, पैसाप्रतिको आशक्ति र निराशा कुण्ठा नदेखिएको बताउनु भयो । उहाँका क्रान्तिकारी गुणलाई कसरी कार्यकर्ता र जनताको बीचमा कसरी पुर्याउने भन्ने विषयमा प्रतिष्ठान र पार्टीले पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु भयो । त्यस्तै पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटलले उहाँसँगको सहकार्यको चर्चा गर्दै भक्तबहादुर श्रेष्ठलाई नेपाली कम्युनिस्ट आन्दोलनका तीनवटा स्कूलिङमध्ये चौम स्कुलिङको जग भएको स्पष्ट पार्नुभयो । नेता श्रेष्ठमा असाधारण क्षमता रहेको भन्दै उहाँको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयो । त्यसैगरी राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले भक्तबहादुर श्रेष्ठको त्यागी, निश्कलंक र उदात्त छविको चर्चा गर्दै सर्वहारावर्गको मुक्ति आन्दोलनमा आजका क्रान्तिकारीहरुले उहाँबाट सिक्नुपर्ने धेरै गुणहरु रहेको बताउनु भयो ।

भक्तबहादुर श्रेष्ठकी छोरी प्रतिभा श्रेष्ठले आफ्नो बुबाको बारेमा निकै मार्मिक भनाइहरु राख्नुभएको थियो । उहाँले भन्नुभयो, “मलाई मेरो बुबाप्रति गर्व छ । भक्तबहादुर श्रेष्ठ मेरो मात्रै होइन शोषित पीडित जनताकै अभिभावक हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पुर्ण जीवन देश र जनताकै लागि बिताउनु भयो । बुबा भएपनि साथी जस्तै व्यवहार गर्नु हुन्थ्यो । मकै छोडाउँदा मार्क्सको जीवनी सुनाउनु हुन्थ्यो । मकै गोड्दा लेनिनको जीवनी सुनाउनु हुन्थ्यो । उहाँले हामीलाई श्रमप्रति श्रद्धा र गर्व गर्न सिकाउनु भयो । लोकतान्त्रिक गणतन्त्रमा बुबाले चित्त बुझाउनु भएको थिएन । नौलो जनवादी गणतन्त्र ल्याउनु पर्छ भन्नू हुन्थ्यो । उहाँप्रति सच्चा श्रद्धाञ्जली गर्नु भनेको उहाँले देखाएको बाटोमा अगाडी बढ्नु हो ।”

नेता सीपी गजुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हरिकृष्ण गजुरेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य पार्टीकी आयोजक समिति सदस्य इन्दिरा अधिकारीले राख्नुभएको थियो । कार्यक्रमको सुरुमा एक मिनेट मौनधारणसहित कमरेड भक्तबहादुर श्रेष्ठको तस्बीरमा अबीर र माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन कमरेड भक्तबहादुर श्रेष्ठकी छोरी, नातिनी, ज्वाइँ लगायत परिवारका सदस्यहरु हेटौँडाबाट आइपुग्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।