0 COMMENTS

पुस २५, काठमाडौँ । तपस्वीको आवरणमा हत्या, बलात्कार र अवैध धन्दा चलाउँदै आएका कथित तवस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जन र उनको निवासबाट बरामद गरेको ठूलो परिमाणको नगद सार्वजनिक गरेको छ । सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर बम्जन पक्राउबारे विस्तृत जानकारी पनि दिएको छ ।

यौन दुराचार र व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा सीआईबीले बम्जनलाई मंगलबार उनको निवास हात्तीगौंडाबाट पक्राउ गरेको थियो । एक बालिकामाथि यौन दुराचार गरी हत्या गरेको आरोपमा बम्जनमाथि प्रहरीले अनुसन्धान गर्दै आएको थियो । अन्य थप व्यक्तिहरू पनि उनको आश्रमबाट हराएको सूचना प्राप्त भएकाले अनुसन्धान भइरहेको सीआईबीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार चुन्मो भनिने २९ वर्षीया चिनीमाया तामाङ, ५१ वर्षीय सञ्चलाल वाइबा, डोल्मो भनिने फूलमाया रुम्बा र सुरेशकुमार आले बम्जनको आश्रमबाट हराएको सूचना प्रहरीलाई आएको छ । उनीहरू बम्जनकै अनुयायी रहेको प्रहरीको भनाइ छ । बम्जन विभिन्न ठाउँमा आश्रम सार्दै–बस्दै आएका थिए । चिनीमाया, सञ्चलाल र फूलमाया सिन्धुपाल्चोकको बाँडेगाउँबाट बेपत्ता बनाएको आचार्यले जानकारी दिए । बम्जन केही वर्षअघि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित टोड्के भन्ने ठाउँमा आश्रम बनाएर बसेका थिए । सोही बेला ती अनुयायीहरूलाई बेपत्ता पारिएको प्रहरीको भनाइ छ ।

पत्रकार सम्मेलनमा बरामद गरिएको नेपाली रुपैयाँसहित विभिन्न १७ देशको गरी तीन करोड ३४ लाख ६७ हजार नौ सय ६ नगद सार्वजनिक गरिएको हो । बम्जनको निवासबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ र अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलरलगायत विभिन्न १७ देशका मुद्रा बरामद गरिएको एसपी आचार्यले जानकारी दिए । बरामद विदेशी मुद्रा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको छ । यसैगरी मोबाइल १४ थान, पे ड्राइभ २० थान र आइप्याड पाँच थान बरामद गरिएको छ । सीआईबीले रामबहादुर चढ्ने गाडी र मोटरसाइकल पनि बरामद गरेको छ । ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तिका नाममा छन् ।

आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका थिए । त्यस्तै उनले ल्यान्डक्रुजर-जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो । उक्त गाडी ललितपुर महानगरपालिका वडा नं. २२ बुङमतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको थियो । महर्जन बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष हुन् । त्यस्तै बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ ।

बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेस गरिने र नगद तथा विदेशी मुद्राका लागि भिन्नै अनुसन्धान गरिने सीआईबीले जनाएको छ । यौन दुराचारमा उनीमाथि सर्लाही जिल्लामा उजुरी परेकाले उतै पठाउन लागिएको हो । प्रहरीले बम्जनबारेको अनुसन्धानलाई ‘अप्रेसन ब्लु’ नाम दिएको छ । खास नाम रामलाल रहेका ३४ वर्षीय बम्जन सीआईबीको टोली पक्राउ गर्न पुगेपछि घरको चौथो तलाको झ्यालबाट हामफालेर भाग्न खोजेका थिए ।

बाराको हलखोरियामा ०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन । पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न सकेको थिएन । शक्ति केन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता बेपत्ताजस्तै थिए ।

बाराको हलखोरियामा ०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन । पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न सकेको थिएन । उनी केही समयअघि काठमाडौं प्रवेश गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा सिआइबीले उनी बसेको घरलाई एक सातादेखि निगरानीमा राखी मंगलबार पक्राउ गर्न सफल भएको हो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदातले २०७६ साल माघ २३ गते नै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा रहेका बम्जनले आफू तपस्वी भएको बताउँदै आएका थिए । तर उनकै आश्रमबाट अनुयायीहरू बेपत्ता पारेका विभिन्न उजुरीसमेत प्रहरीमा परेका छन् । बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशिबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।

सीआईबीसँगको बयानमा बम्जनले आफूले अपराध नगरेको दाबी गरेका छन् । प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेको सीआईबीले जनाएको छ। आफूलाई फसाउनका लागि विभिन्न अपराधको आरोप आफूमाथि लगाइएको उनको दाबी छ । उनले आफू यतिन्जेल ध्यान र अध्ययनमा रहेको भन्दै नभागेको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।