0 COMMENTS

पुस २०, काठमाडौँ । नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका छन् । काठमाडौँमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो ।

बैठकअघि नै दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको हो । बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भारतका ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने उल्लेख थियो । त्यस्तै, बिहीबार दिउँसो दरबार मार्गस्थित याक एण्ड यती होटलमा नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक बसेको थियो ।

उक्त बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थसचिव कृष्णहरि पुष्करले भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्याउने सम्झौता गरेका थिए । यस्तै, नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौता पनि बिहीबार नै भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र डिपार्टमेन्ट अफ स्पेस अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । त्यस्तै नवीकरणीय ऊर्जा विकास क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी पनि सम्झौता भएको छ ।

आयोगको बैठक सकेपछि भारतीय विदेशमन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्विटमार्फत् यसबारे उल्लेख गरेका छन् । गएको कात्तिक १९ मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिका राहतका लागि पनि पाँचौं चरणको सामग्री पनि हस्तान्तरण भएको छ । यस्तै, साउद र जयशंकरले तीन वटा अन्तरदेशीय प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरेका छन् । उनीहरूले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको संयुक्त उद्घाटन गरेका हुन् ।

बैठकपछि जयशंकरले लेखेका छन्, ‘सातौं भारत–नेपाल संयुक्त आयोगको विस्तृत एवं फलदायी बैठक मेरा समकक्षी एनपी साउदसँग सहअध्यक्षता गर्दै सम्पन्न भयो। हाम्रो छलफल विशेषगरी हाम्रो समग्र द्विपक्षीय सम्बन्ध, व्यापार र आर्थिक सम्बन्ध, भूमि, रेल र हवाई कनेक्टिभिटी परियोजना, सुरक्षा सहकार्य, कृषि, ऊर्जा, जलस्रोत, विपद् व्यवस्थापन, पर्यटन, नागरिक उड्डयन, जनता–जनताबीचको सम्बन्ध, साँस्कृतिक आदानप्रदान र विकास साझेदारीमा केन्द्रित थियो ।’

नेपाल र भारतबीच विभिन्न चार वटा विषयमा भएको सम्झौता तथा सहमति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।