0 COMMENTS

पुस १५, काठमाडौँ । प्रहरी हस्तक्षेपको प्रतिरोध गर्दै रत्नपार्क शान्तिबाटिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार लालितपुरको बालकुमारीमा प्रहरीले गोली हानी निर्दोष युवाहरुको हत्या गरेको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको हो ।

काठमाडौंको असनबाट सुरु भएको मशाल जुलुस रत्नपार्क शान्तिबाटिमामा पुगेर कोणसभामा परिणत भएको थियो । मशाल जुलुस शान्तिबाटिमामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । पार्टीका नेता कार्यकर्ताहरुले सशक्त प्रतिरोध गरेपछि प्रहरी पछि हटेको थियो ।

मशाल जुलुसलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिश भट्टले सम्बोधन गर्नुभएको थियो । उहाँले बेरोजगार युवाहरुले रोटी माग्दा गोली दिने फासिवादी राज्यका विरुद्ध आवश्यक पर्यो भने गोलीले नै जवाफ दिने चेतावनी दिनुभयो । संसदीय व्यवस्था रहेसम्म युवाहरुले यसरी नै मरिरहनु पर्ने भन्दै उहाँले सबै युवाहरुलाई यो संसदीय व्यवस्था फालेर मुलुकमा जनगणतन्त्र नेपालको स्थापना गर्ने आन्दोलनमा लामबद्ध हुन अपिल गर्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको संघर्ष समितिको बैठकले आजै मात्र बालकुमारी हत्याकाण्डका विरुद्ध १० दिने संघर्षका कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार नै आज काठमाडौं उपत्यकामा मशाल जुलुस प्रदर्शन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।