0 COMMENTS

मङ्सिर २८, काठमाडाैँ । आज राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने खगोलविद्ले बताएका छन् । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।

नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएकाे मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताउनुभयो ।

अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उहाँको भनाइ छ । उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्रदूषण (उज्यालो प्रकाशका कारण आकाशमा हुने प्रदूषण) कम भएको  ठाउँबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् ।

नेपालबाट कति बेला अवलोकन गर्ने ?

नेपालमा स्थानीय समयानुसार बिहीबार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।

डा. आचार्यले अनलाइनखबरसँग भने, ‘नेपालको जुनसुकै ठाउँबाट पूर्वतिर फर्किएर आकाशमा हेर्ने हो भने राति १२ बजेदेखि बिहान ३–४ बजेसम्म जेमिनिड्स उल्का वर्षा देखिन्छ ।’ यो धेरै संख्यामा स्पष्ट देखिने भएकाले अरु उल्का वर्षाभन्दा विशेष मानिएको उनले बताए ।

वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।

नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने बताइएको छ ।

उल्का वर्षा के हो ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ ।

बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई भने कुनै असर गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।