0 COMMENTS

मङ्सिर ११, चितवन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरै छैन ।”

सभापति देउवाले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताए । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? यो प्रश्नमा उनले भने, “को अत्तालियो ?  हामी अत्तालिएका छैनौँ ।”

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ नी ।”

सो अवसरमा कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’ सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले सरकारको काम त्यति सन्तोषजनक नरहेको बताए । सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।