0 COMMENTS

मङ्सिर ६, काठमाडौँ । भारतीय आयातले नेपाली बजार कब्जा गरेपछि नेपाली किसानहरु कृषि उत्पादनप्रति निरुत्साहित बन्दै गएका छन् । र, व्यवसायिक कृषिखेतीबाट किसानहरु विस्थापित हुँदै गएका छन् । नेपालमा खेतीयोग्य जमीनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझिएको छ । सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ । खेतीयोग्यभूमिमध्ये १० लाख ३० हेक्टर जमिन बाँझिन पुगेको छ ।

कृषि क्षेत्रमा लगानीअनुसार फाइदा नहुने देखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको पाइएको छ । कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रुपमा सम्मानित पेसाका रुपमा विकसित हुन नसक्नु लगायतका कारण खेतीयोग्य जमिन बाँझो रहेको वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलको ठहर छ । ‘घाटाको व्यापार कस्ले गर्छ, नेपालमा कृषि क्षेत्र नाफामुखी छैन,’ उनले भने, ‘लागत अनुसार आम्दानी हुँदैन, यसले गर्दा खेतीपातीमा आकर्षण घट्दो छ र खेती बाँझो भएको हो ।’

देशभर व्यवसायिक भन्दा निर्वाहमुखी खेती भइरेको छ । यहाँको उत्पादनले भारतको उत्पादनसँग प्रतिस्पार्ध गर्न नसकेर बजार पाउन समस्या हुन्छ । यसले गर्दा किसानहरु निउत्साहित हुन्छन् । तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो छ । यसो हुनुमा पहाडी क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । यस्तै, गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ ।

पहाडी र हिमाली क्षेत्रमा खेती गर्नेको संख्या घट्दै गएको छ । कृषिमा जङ्गली जनावरबाट हुने क्षति बढ्दो छ । ढकालका अनुसार पहिला धेरै खेती हुने भएकाले जंगली जनावरको क्षति बाँडिएर खासै बाली नोक्सान हुँदैन थियो । तर पछिल्लो समय खेती थोरै हुने भएकाले जनावरबाट हुने क्षति बढी देखिएको उनको भनाइ छ । गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा अवसर नभएको भन्दै जनशक्ति सहर केन्द्रित भएकाले गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ ।

नेपालमा खेतीयोग्य जग्गा खण्डीकृत भएकाले व्यावसायिक रुपमा खेती गर्न कठिन भएको र यसका साथै बाह्रै महिना सिँचाइ सुविधा पुग्ने ३५ प्रतिशत पनि जमिन नभएको, टेक्नोलोजीको सहयोग पुर्याउन कठिन, बिउबिजनको सुविधामा समस्या लगायतका कारण पनि जमिन बाँझो रहने गरेको विज्ञहरुको भनाइ छ । उनीहरुले भारतीय आयातमा रोक नलगाउने हो भने नेपाली किसानहरु उत्पादनमा आकर्षित हुँदैनन् । उनीहरुको उत्पादनको बजार मूल्य नभएपछि कृषि उत्पादनप्रति किसानहरु आकर्षित हुन नसकेको भनाइ उनीहरुको छ । कृषि क्षेत्रमा स्थानीय तहदेखि विभिन्न क्षेत्रसँगको सहकार्य तथा समन्वय फितलो भएको पनि उनीहरुको भनाइ छ ।

गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा अवसर नभएको भन्दै जनशक्ति सहर केन्द्रित भएकाले गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ । गाउँघरमै कृषिबाहेक अन्य क्षेत्रबाट पनि आम्दानी हुने वातावरण मिलाएर गाउँमै जनशक्ति रोक्न सके बाँझो जमिनको सदुपयोग हुने विज्ञहरुको विश्लेषण छ ।

भूमि उपयोगका हिसाबले नेपालमा हाल कुल भूभागको करिब २७ प्रतिशत खेतीयोग्य, ३९ दशमलव ६ प्रतिशत वन क्षेत्र, १२ प्रतिशत चरन क्षेत्र, १७ दशमलव २ प्रतिशत हिउँ तथा चट्टान क्षेत्र तथा २ दशमलव ६ प्रतिशत जलक्षेत्र छ । यी विभिन्न क्षेत्रको उचित व्यवस्थापनका लागि उपयुक्त नीतिको अभाव देखिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।