मङ्सिर ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सफा रहने छ ।
विभागले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज सूर्योदय ६ बजेर ३० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।