0 COMMENTS

कात्तिक १८, काठमाडौँ । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ ।

गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको र त्यसका लागि तयारी भइसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ (९८५११४३६६६) लाई सम्पर्क गर्न सक्नेछन् । यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

अस्पतालहरूमा पर्याप्त मात्रामा चिकित्सक, नर्सिङ स्टाफ, र लजिस्टिकको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल, आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

बाँकेमा रगतको मौज्दात रहेको छ । अपुग भएका फ्रेस रगत आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

जाजरकोटको बारेकोट केन्द्र भएर शुक्रबार राति ११ : ४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा नलगाड, भेरीलगायत रुकुमको आठविसकोटमा ठूलो मानवीय क्षति भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएरातिको गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा १ सय ५५ जना घाइते भएको विवरण प्राप्त भएको छ । भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै, रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।