कानुन मृत्युजस्तै हुनुपर्छ, जो कसैलाई पनि छोड्दैन : मन्टेस्क्यु
केही दिन भ्रष्टाचारविरुद्धका चर्चा, बहस र समाचारका बाढी नै आए तर ती चिया कपको तुफानझैँ सेलाए । कानुनी छिद्रबाट अभियुक्तसमक्ष कानुन पुग्न सकेन, दामलीहरू पनि अदालती ड्राइक्लिर्सबाट दाग धुँदै गए । भ्रष्टाचार राजनीति र समाजको महारोग बनिसक्यो । भ्रष्टता सामान्य र सर्वस्वीकार्य भएर बहस र प्रतिरोधका आवाज मत्थर भइसके । बिर्सने रोग (अल्जायमर) व्याप्त छ । पुराना काण्डलाई ठूला काण्डले चपाइदियो । निर्मम अप्रेसन हुँन नसक्दा घाउ क्यान्सर बनेझैँ देश असफल राष्ट्रको बाटो पछ्याउँदै छ । हामी भ्रष्ट सिन्डिकेटको छहारीमा छौँ । त्यसको मूलरक्षक केन्द्रीय सत्ता हो । पुँजीवादको ठूलो परिचय, भ्रष्ट हुन्, अरूलाई पनि भ्रष्ट पारेर सत्ता नै भ्रष्टतन्त्र बनाउनु हो । एक्लै कोही पनि ठूलो भ्रष्ट हुन सक्दैन, गिरोह तयार गर्नुपर्छ । राजनीतिक संरक्षण आवश्यक हुन्छ । आफ्नो भ्रष्टता लुकाउन पनि अरूलाई भ्रष्ट बन्न हौस्याएर, अवसर बनाइदिएर सुरक्षित सोच्ने थाल्छ । तब सिन्डिकेट तयार हुन्छन् । औजार राजनीतिक पार्टी हुन्, छाया भातृ सङ्गठन । त्यसको रस झर्दै जाँदा तिर्खा मेटाउनेका भिन्नाभिन्नै परिचय भए पनि सिन्डिकेटमा भने एक हुन्छन् । प्रतिरोधी सक्रियता र सडकको मौनताले भ्रष्टता नेपाली समाजको ‘आदर्श’ बन्दै गयो । भ्रष्टता पौरखी व्याख्या हुन थालेपछि प्रतिकारका आक्रोशः स्वतः सेलाउँदै अर्थहीन बन्न पुगे । पार्टी र कार्यकर्ता हाम्रा राम्रा छन् भनेर भ्रष्टाचारीका दलालमा फेरिँदै गएपछि अरूलाई भ्रष्ट देखे पनि आफन्त निष्कलङ्कित छन् भन्ने भाष्य तयार हुँदै गयो । नयाँ न्यारेटिभ तयार गरिएर भ्रष्टाचार विरोधलाई असक्षमहरूको कुण्ठा प्रलाप भनेर व्याख्या हुन थाले ।
के भ्रष्टाचारले सामाजिक स्वीकृति पाएकै हो ?
अकूत सम्पत्ति आर्जन र भ्रष्ट नायकका नेपाली प्रतीक बनेका चूडामणि शर्मा जेलमा छन् । उनी पात्र मात्र हैनन्, रिकर्ड तोड पात्र शिरोमणि र भ्रष्ट सिन्डिकेटका सिईओसमेत बने । पदासीन भएर हितअनुकूलको कानुनी व्याख्या गर्दै भ्रष्ट उद्योग चलाउँदै गए । लाल–पछेउरी हुन् वा निला गम्छा ओड्ने शक्तिबहादुरहरू उनकै कला र क्षमताका प्रभावमा निरन्तर देखिँदै गए । पछ्याउँदै गए । महाभ्रष्टाचार सिन्डिकेटकै अप्रेसन गर्ने कुनै खोजी पत्रकारिता भएन । मिडिया अंशमा त खेलेको छ तर सिन्डिकेट अप्रेसनमा भने ध्यान दिँदैन । भए पनि प्रभावहीन भए । कतै त्यो पनि सिन्डिकेटकै जालोमा त फसेको छैन भन्ने भो । सामान्य विषय जनसरोकारको राष्ट्रिय विषय बनाउने नागरिक समाज मौन छ । विषय दबाउन संसद्मा सहमति छ । राजनीतिक पार्टी मौन छन् । भूपू अर्थमन्त्रीजीहरू यसमा चोखो छु भनेर सार्वजनिक हुन खोज्छन् । युगका आवाज भनिने विद्यार्थी सङ्गठन मौन छन् । विवेकशीलता हरायो । समग्रमा यसले दिने सन्देश भनेको मौनतामा बस्ने र मलाई छु मतलव ? भन्ने समाजको चरित्र बन्दै गएपछि सडक अन्याय र अपराधविरुद्ध मौन बन्दै गयो ।
यो मौनताको दुर्भाग्यपूर्ण समय हो । गम्भीर विषयलाई सरलीकृत गर्ने वा बहसहीन बनाउने वा त्यो बहस थलो कब्जा गरिदिने खतरनाक खेल भइरहे । आफ्ना गम्भीर गल्तीको ध्यान अन्तै मोड्न तैंले पनि त त्यो गल्ती गरेको थिस् भनेर चोरीजुहारी चल्दैछ । अपराधको कुनै जात, धर्म र पार्टी हुँदैन तर आफ्नाले गरेका अपराधलाई बचाउने कोसिस हुँदै रहे । आफैँँ समस्यामा नपरेसम्म ध्यान नदिने, गम्भीर नहुने समाज तीब्र गतिमा साँस्कृतिकस्तर टुट्दै गएको निसान हो । भ्रष्टाचारलाई अपराध नभनी पौरख मानिने सामाजिक चरित्र बन्न थालेपछि संवेदना र बुद्धि माथि रजाइँ गरिदिएर हरेक पक्षलाई गिजोल्न पुग्छ ।
सामाजिक सञ्जाल यस्तो अद्भूत चौतारी रहेछ, जहाँ मान्छेका वास्तविक चेहेरा देखेर छिपेका उनका अनुहार खोतल्दै उनीप्रति निजि धारणा बनाउन सकिँदो रहेछ । उपभोक्तावादी बन्दै गएको समाजमा निजी र पुँजी केन्द्रित चिन्तन हुन्छ भने हरेक काममा के फाइदा हुन्छ भनेर सोच्छन् । भ्रष्टहरूको विरोध गरेर के फाइदा ? भन्नेर मान्छे भन्ने जमात देखा पर्न थाल्यो । चन्दा र कोसेली अर्का औजार हुन् । हिजोका आदर्श र राजनीतिक अभियान भ्रष्टताको भर्याङ बने । भ्रष्टसँग पुँजी भयो तर सामाजिक अधार भने भएन । ‘लाल सलाम’ र ‘जय नेपाल’ भन्दै आर्जित रकमको सुखभोग गर्न नपाएर झ्यालखानामा कोचिएकाहरू के सोच्दा हुन् ? माओवादी ‘राजकुमारहरू’, निजी सम्पत्ति पार्टीकरण गरेर नवधनाढ्य बनेका ‘नेताहरू’ के सोच्दा हुन् ! आरोप सार्वजनिक लाग्दा, तथ्य र प्रमाण बोल्दा, जनविश्वासमा भ्रष्टाचारी ठहरिए पनि न्यायिक प्रकृयाबाट गुज्रिन नपाउँदा÷ नपर्दाको अवस्था के हुन्छ ? यदि सम्पत्ति शुद्धीकरण आयोगले स्वच्छ छानबिन गर्दै न्यायिक कठघरामा उभ्याउने हो भने भ्रष्टहरूको हविगत के, के होला ! सङ्ख्यामा कति होलान ! प्रश्न र जिज्ञासा छन् तर पत्यारिँदो जवाफ भने छैन ।
आदर्शको रामनामी बर्को ओढ्ने ‘सम्मानित’ भन्न थाले– खाएपछि पचाउन जान्नुपर्छ । दामलीलाई एकएक गरेर कठघरामा प्रचण्ड सरकारले उभ्याऊला र पुराना फाइल खोल्नेक्रममा भुटानी शरर्णाथी प्रकरण, ललिता निवास, र सुनकाण्ड मात्रै नभई ओम्नी, यती हायन्डलिङ, गिरी बन्धु टी स्टेट र टिकापुर पनि छरपरस्ट होलान् भन्ने अपेक्षा थियो । अनुसन्धानले भर्याङ उक्लन थालेपछि बारम्बारको शीर्षस्थको मिटिङ र संसद्को अवरोधबिच सहमतिको सार्वजनिक मध्यमार्ग खोजिए । प्रधानमन्त्रीसँग २ वटा विकल्प थिए, पहिलो दामलीसँग निर्मम भएर नौलो भूमिकामा देखिने, दोस्रो परिस्थतिसँग सम्झौता गरेर सत्ता लम्याउने । उनले दोस्रो बाटो रोजे । भ्रष्ट सिन्डिकेट आरोप सत्यापिद्ध गराउन दिँदैनथ्यो, आखिर दिएन । कसैले पनि सिंह र भालुको बली दिँदैन, मन्दिरमा रेटिने त बाख्रीपुत्रै हो । सत्तामा पुग्न र टिक्न मरिहत्ते गर्नेले भ्रष्ट सिन्डिकेटको सामना गर्न सक्दैनन् । एकअर्काका अपराध छिपाइदिन्छ । जनस्तरमा व्यापक असन्तोष देखियो भने कारबाही पनि मञ्चन हुने गर्छन् । नत्र भनेका घुर्की, धम्की मिडियामा उरालिन्छन् ।
२०६२/०६३ को आन्दोलनसम्म पुग्दा राजनीतिमा क्रमभंगता त गर्यो तर राजनीतिक संस्कृतिले फड्को मार्न भने सकेन । राजनीतिको सामाजिकीकरण नहुँदा मान्छेको सोचको केन्द्रमा मानवीय व्यवहार र चिन्तनमा रहँदैन । समयको पनि उमेर हुन्छ, निश्चित समयपछि सकिन्छ । हिजोका आदर्शवादी ढल्दै गए । केही धैर्यता राख्नुपर्छ, समयले नक्कली आदर्शको नाँगेझार पारिदिँदो रहेछ । नियत जाच्ने तराजु त देखिने परिणाम नै हुन् । मौका नपाउँदा बनेका आदर्शवादीहरू मोका पाउनेबित्तिकै महाभ्रष्ट देखा पर्दै गए । जो दासत्वका विरुद्ध लडे, आज तिनै दासत्वको रुचि राख्दैछन् । जो भ्रष्टताका विरुद्द होमिए तिनै दामली बन्दैछन । भनिन्छ–सफलतासँगै शक्तिको दोष मेटाउने अदभूत क्षमता हुन्छ ।
राज्यसंरचना कमजोर र सिद्धान्तहीन पार्टी बन्दा गुण्डाहरू राजनीतिमा प्रवेश गरेर दुष्कर्म बढेर राजनीति व्यवसायमा फेरियो । राजनीति पेसा बनेपछि पार्टी भ्रष्ट उत्पादन गर्ने कारखाना बने । शरीरले नधान्दा धेरै दिन नेतृत्वमा रहेर फेरि पनि किन नेतृत्वको मरिहत्ते गर्छ ? नेता र कार्यकर्तासँग पत्यारिँदो जवाफ छैन– जीवन निर्वाह कसरी गरिन्छ ? छोराछोरी कसरी कहाँ पढ्छन् ? चुलो कसरी जल्छन् ? । झन्डा र नाम हटाइदिने हो भने पार्टी छुटयाउनै सकिँदैन् । त्यसैले निरास जनमत भीडमा फेरिँदैछन् । पार्टीहरू रूपमा वैचारिकी भए पनि सारमा सबै भ्रष्टतन्त्र नै बन्दै गए । मूर्ख कार्यकर्ता र भीडमा फेरिँदै गएको जनमतमा आदर्श हुँदैन, विकल्पको पहल गर्नुपर्ने हुन्छ । राजनीति शास्त्री प्राध्यापक कृष्ण खनाल भन्छन्, “सत्ता सुखभोगले पार्टीका नेता–कार्यकर्ताको पेट भरिएको छ, दिमाग मोटो भएको छ । पेट अलिकत खाली नभए दिमाग क्रियाशील हुँदैन ।”
के हो भ्रष्टाचार ?
दामली नबन्दासम्म हरेक भ्रष्टाचारी आदर्शवादी ठहरिन्छन् । मौका नपाउँदा निःकलङ्कित हुन्छन् पनि । मानसिक भ्रष्टाचारी पनि कर्ममा नदेखिँदा वेदागी बनेकाले जीवनको अन्त्यसम्म आदर्शवादी बन्ने सुविधा पाउँछन् । आखिर भ्रष्टताको सोच, नीति, विधि, अभ्यास, भूमिका र परिणाम अर्थात् सार्वभौम परिभाषा के हुन् ?
आर्थिक, राजनीतिक, सामाजिक एवम् न्यायिक व्यवस्थालाई लोभको भ्रमजालमा फसाएर जीवनको मूल उद्देश्यलाई नै फेरिदिई साँसारिक मोह–मायामा व्यक्तिलाई डुबाएर आफ्नो मानवीय कर्तव्य बिर्साउँदै कूकर्म गर्न हौस्याउने मनोभाव भ्रष्टाचार हो । आचार, विचार र व्यवहार अनैतिक र असामाजिक भएपछि भ्रष्टाचारको परिभाषा, आयाम, चारित्रिक भूगोलको क्षेत्रफल पनि फराकिलो हुँदै जान्छ । भ्रष्टाचार आर्थिक मात्रै नभई राजनीतिक, सामाजिक, साहित्यिक, न्यायिक दार्शनिक र साँस्कृतिक नैतिक मूल्यको पतन, बढ़दो उपभोक्तावादी संस्कृति, समाजमा व्याप्त कूरीतिलाई सामाजिक स्वीकार्यता बढदै जाँदा देखिने परिणाम हो । शक्तिमा रहेका, पदासीन व्यक्ति वा सङ्गठनद्वारा गरिने बेइमानी वा अपराधको परिणाम कसैलाई व्यक्तिगत र गैह्रकानुनी शक्तिको दुरुपयोग गरेर फाइदा लिइनु, दिइनु र पुर्याइनु भ्रष्टाचार हो । घुस, शक्तिको प्रभाव, नीति र विधिमै फेरबदल गरिँदै हितअनुकूलको व्याख्या हुने गर्छ । कालान्तरमा त्यो देश असफल राष्ट्रमा फेरिन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रटाचारसम्बन्धी विश्वव्यापी १ सय ८० देशमा गरिएको सर्वक्षणमा १ सय दसौँ नम्बरमा यस वर्ष नेपाल रहेको छ ।
घटनाका निहुँ त हुन्छन् तर त्यसका कारकपक्ष समाजमा पहिल्यै रहेको हुन्छ । हामी कतिधेरै व्यक्तित्वमा विभाजित छौ ? अपराध र दण्डका मानक अभियुक्तका आधारमा फरक–फरक भए । सैद्धान्तिक रूपमा भ्रष्ट र नैतिक पतनलाई हामी घृणा गर्छौं तर व्यवहारमा शक्ति र सम्बन्धका आधारमा बनेका नवधनाढ्यका सामाजिक रवाफ र तुजुकलाई भने सन्मान दिन्छौँ, घृणा गर्न सक्दैनौँ । निजी र पुँजी केन्द्रित चिन्तन भएपछि हरेक काममा फाइदा मात्र सोचिन्छ । सोचले भूमिका तय गर्छ । सुन्दरता र कुरूपताको मापन भूमिकाले तय गर्छ । असल मान्छेले जब लोभ, आस, र डरले मूल्यमाथि सम्झौता गर्न थाल्छ, त्यसैदिनदेखि उसमा रहेको मानवीय सुन्दरता कुलेलाम ठोक्न सुरु गरिसक्छ । आत्मामा धमिरो लागेपछि स्वभिमान र दामलीमा फरक छुट्याउन सकिँदैन । जुनबेला होसमा आउँछ, त्यसबेला परिस्थिति सम्हाल्ने समय घर्किसकेको हुन्छ । परिणाममा दण्डित भएपछि यसो नभएको भए त्यसो हुँदैनथ्यो भन्ने पछुतो गलपासो हुन्छ ।
भोक धेरै प्रकारका हुन्छन । सत्ता, पैसा, यौन, सम्पत्ति र जमिनको भोक कहिल्यै पूरा हुँदैन । विलासिताको भोक र अगस्ती लालसा बढेपछि तीब्र अपेक्षा र कलुषित सोचले हैसियतवाला मान्छेलाई भ्रष्टतातर्फ धकेल्छ । हिजोको आदर्श घाँडो हुन्छ, पुराना सङ्गत अर्थहीन हुन्छन् । छुदा पूरा गर्ने अवस्था हुँदैन, तब क्रमशः नालीमा धकेलिँदै जान्छ । धन, मान र सम्मानलाई स्वयम्ले रक्षा गर्नुपर्छ । सम्मान भनेको समय र स्थितिको उपज हो । त्यसैले धन र सत्ताको अगस्ती भोकले थप लालच र त्रास बढाउँदै लान्छ । पदहीन, धनहीन भएपछि असुरक्षित सोच्न थाल्छन् ।
प्रविधि र प्रवृत्ति फास्टफुड प्रकृतिको बन्दै जाँदा सामाजिक दर्शनको रिक्तताले लम्पट विलासिताको कल्पना बढेपछि मस्तिष्कको केन्द्रमा मानव रहँदैन । स्वभाव र भूमिकालाई प्रभाव पार्दै गएर जीवनका अर्थ र द्वन्द्वका चरित्र फेरिँदै जान्छन । विलासिताको तुजुकको प्रदर्शनले सामाजिक सम्मान नवधनाढ्य परिचय खोज्दा नयाँ हैसियत र औकात देखिँदै जान्छन् । गुण, दोषका आधार रूपमा अल्झिन्छन्, तब उपभोक्तावादी विचारले भोगवादी प्रवृत्ति जगाएर मान्छेलाई भ्रष्टपथमा धकेल्दै लान थाल्छ ।
हिजोका आदर्श, उदेश्य, मुद्दा, विचार र अभियान आन्दोलन उठाउनेहरू नै आज सबभन्दा भ्रष्ट बन्दा के ती अभियान नै गलत थिए ? कि आदर्शमा टेकेर एउटा आवेग तयार गर्दै निजी उद्देश्यका लागि लागेका थिए ? भन्ने भयो । किन आदर्शवादी मान्छे कालान्तरमा भ्रष्ट बन्छ ? के प्रतिकूलता नै मात्र आदर्शवादी नायकत्व रक्षा गर्न सक्छ ? आदर्श इतिहासको ब्याज खान त वर्तमान भूमिकामा सार्थक सावित गर्न पर्छ । आदर्श घाँडो बनेको राज्य प्रायोजित हाम्रो पुस्ता अब नयाँ कथ्य रच्न जोडतोड गर्दैछ । सत्तामा पुग्न र टिक्न जे जेजस्तो उपाय रचिन्छन्, जायज हो भन्ने कथ्यले नै भ्रष्ट जन्मिन्छन् । परिणामतः मुलुकको आधाभन्दा बढी सम्पत्ति २० प्रतिशतको हातमा छ भने बाँकी २० प्रतिशतसँग ४ प्रतिशत मात्र सम्पत्ति छ ।
विश्व र भ्रष्टाचार
भ्रष्टाचार स्थानिक सामाजिक घटना मात्रै नभई प्रायः सबै देशहरूमा फरक–फरक स्तर र अनुपातमा देखा पर्दैछ । अविकसित र द्वन्!रत देशमा मात्रै छैन, अत्यन्तै विकसित र संस्थागत संरचना भएका देशमा पनि बढ्दा छन् । सवल र सक्ष्म राज्य र नेतृत्वका परिभाषा फेरिएपछि वैधानिक भ्रष्टाचार बढ्दै गए । पानामा पेपर, हिन्डेनवर्ग रिपोर्ट, पेगासेस जासुसी यन्त्र, राजनीति र भ्रष्टाचारको लगनगाँठो कसिँदै गएको प्रष्ट पार्दै गए । अझ आर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिंग प्रोजेक्टको रिपोर्टले विश्वका सबभन्दा भ्रष्ट नेताहरूकै नाम सार्वजनिक गर्यो ।
धनाढय परिवारका बेलायती प्रधानमन्त्री बोरिस जॉनसन पनि आरोपका घेरामा रहे भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका २ सङ्गठन पनि भ्रष्टाचारका दोषी पाइए । न्यूयॉर्क मैनहट्टन अदालतले ट्रम्सको सबै अपराध आरोपको दोषी पायो । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई फ्रेन्च अदालतले दोषी ठहर गर्दै ३ वर्षका लागि जेल सजाय सुनायो । दक्षिण अफ्रिकाका पूर्व–राष्ट्रपति जैकब जुमा, मलेसिया पूर्व–प्रधानमन्त्री नजीब रज्जाक दामली ठहरिए ।
सन् १९८५ पछि पेरुमा भ्रष्टाचारको रिकर्ड–तोड् घटना भए । एकैवर्षको ९ दिनमा तीन राष्ट्रपति भ्रष्टचारको आरोपमा गिरफ्तार भए । दुई कार्यकालका राष्ट्रपति एलन गार्सियाले त गिरफ्तारी बँच्न आत्महत्या नै गरे । अर्का पूर्व–राष्ट्रपति, मार्टिन विजकारालाई भ्रष्टाचारको आरोपमा १० वर्षका लागि सार्वजनिक पदमा रहन प्रतिबन्ध लाग्यो । दक्षिण कोरियाली पूर्व–राष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोक्यो । नेता लीलाई राष्ट्रपतिबाट सजाय माफ नभएमा जेलमा नै मृत्यु पर्खनुको विकल्प हुने सम्भावना कम छ । दक्षिण कोरियाका चारैजना पूर्व–राष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् । पूर्वराष्ट्रपति रो मु–ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उनले आत्महत्या गरे ।
अन्त्यमा,
घुस, चुनावी धाँधली, जबरजस्ती चन्दा, विवेकाधिकारको दुरुपयोग, परिवारवाद, विरोधियीलाई दबाउन सरकारी संयन्त्रको दुरुपयोग, भ्रष्ट कानुन, न्यायाधीशद्वारा गलत या पक्षपातपूर्ण निर्णय, राजनीतिज्ञ र व्यापारिक नेटवर्क, ब्लैकमेल, टैक्स चोरी, झुटो साक्षी र मुद्दा, पैसा लिएर र दिएर मतदानलाई प्रभावित पार्नु, पुरस्कार र समानको नेटवर्क चलाउनु भ्रष्टाचारका तरिका बने । विश्वव्यापी भ्रष्टाचारका तरिका र अभ्यासमा सारमा एकैखाले देखिन्छन् ।
सरकारी र सार्वजनिक क्षेत्रमा, राजनीतिक, न्यायिक, शिक्षा प्रणाली, धर्म, दर्शन हरेक क्षेत्रमा भ्रष्टाचार हुन्छ भने बौद्धिक क्षेत्रबाट भ्रटाचारीलाई महानताको सौन्दर्यकरण गर्न थालिएपछि सोचमा नै विभ्रम तयार हुन्छन् । सन्तानलाई जोहो गरे वा विदेशमा गएर मोजमस्तीको जीवन गुजारे पनि परिणाम आउँदा भने सबैखाले भ्रष्टाचारी पछुताउमा रहन्छन् । भ्रष्टाचर मौलाउनु पछाडि जनजागरुकताका अभाव, तुजुकको प्रदर्शन, नैतिक मूल्यको पतन, बढ़दो उपभोक्तावादी संस्कृति, व्याप्त विभिन्न कूरीतिलाई सामाजिक स्वीकार्यता, पूजाआजा भक्तिभाव गरेपछि पाप कटिन्छ भन्ने धार्मिक मान्यता कारक बने । भक्तराम भने शक्तिबहादुरको भ्रष्टताको समर्थन गरेर पदको सुरक्षा गर्छन । सुविधामा पुग्ने, टिकिरहने शक्तिशालीहरूले एउटा भ्रष्ट समाज निर्माण पनि गरिरहेको हुन्छ । विचारमा, सोचमा भ्रष्टताले स्वाभिमान र जीवनमूल्यमा पतन गराँउछ । आफूप्रति औँला नउठोस् भनेर दामलीहरू चिच्याउँदै अरूप्रति औँला उठाउँछन् । जबसम्म अरूलाई भ्रष्ट पार्न सकिँदैन, तबसम्म सुरक्षित सोच्दैनन् । विलासिताको तीब्र चाहना भ्रष्टपथको इन्जिनियर हो ।
भ्रष्टाचारले लोभ र विलासिताको भ्रमजालमा फसाएर मानव जीवनकै मूल उद्देश्यलाई भ्रष्ट गरिरहेको र साँसारिक मोहमायामा फसाएर कर्तव्यलाई बिर्साइरहेको हुन्छ । जनता र भीडमा फरक हुन्छ । आवेग, आग्रह र प्रतिकृयाबाट भीड लतारिन्छ भने जनता विवेक र तर्कले चल्छन् । जनता, नागरिक हुन चेतनाको आवश्यक पर्छ, अन्याय सहँदैन, प्रतिरोध गर्छ । सडक मौन छ । यो मानवताको महाविघटन कालबाट जोगाउनु मानवतावादी राजनीतिज्ञ, दार्शनिक, समाजशास्त्री, मिडिया, साहित्यकार मनोविज्ञानीको युगीन दायित्व हो । के सडक चिच्याऊला ? के सोच निर्माता संवेदनशील होलान् ? के राजनीतिक कर्ममा जागरुकहरू सत्तामा हस्तक्षेप गर्लान् ?