0 COMMENTS

कात्तिक १०, काठमाडौँ । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे  घटनास्थलमा प्रहरी पुगेको बताए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । 

श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या गर्‍यो खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ । 

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । कात्तिक १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज (शुक्रबार) बिहान १० बजेतिर ढोकाको ताला फाेडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।