0 COMMENTS

कात्तिक १, काठमाडाैँ । गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् ।  गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौँ मानिस च्यापिएको अनुमान गरिएको छ ।

गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको दाबी गरेको हो । तर, इजरायलले यो दाबीको खण्डन गरेको छ । अस्पतालमा आफूले आक्रमण नगरेको बताएको इजरायलले हमासलाई आरोप लगाएको छ । हमासले प्रहार गरेको रकेट असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलले दाबी गरेको बीबीसीले जनाएको छ । हमासले यो घटनालाई युद्ध अपराध भनेको छ ।

यो अस्पतालमा सयौँ बिरामी, घाइते र विस्थापितहरु बस्दै आएका थिए । विस्फोट पछि उनिहरुमध्ये सयौँ व्यक्ति अस्पतालको भग्नावशेषमा पुरिएका जनाइएको छ । अस्पतालका अनुसार त्यहाँ झण्डै चार हजार जनाले शरण लिएका थिए ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गरेको छ ।

इजरायल र हमास बीचको पछिल्लो युद्ध १२औँ दिनमा प्रवेश गरेको छ । यो अवधिमा दुवै पक्षले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । 

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजापट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।