0 COMMENTS

कात्तिक १, काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । कार्की सबैभन्दा छोटो अवधिमा विश्वासको मत पाउने मुख्यमन्त्री हुने छन्। नियुक्त भएको सातदिनभित्रै उनले विश्वासको मत पाउँदैछन् ।

शपथ लिएलगत्तै उनले दुइजना मन्त्री नियुक्त गरिसकेका छन् भने विश्वासको मत पाएपछि सहयोगी दलका सदस्यलाई मन्त्री नियुक्त गर्नुपर्ने दायित्व कार्कीमाथि छ। प्रमुख सहयोगी दल एमाले, सत्तामा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेत सन्तुष्ट तुल्याउने जिम्मेवारी कार्कीको काँधमा परेको छ । कार्की मुख्यमन्त्रीका लागि अघि सरेसँगै प्रदेश र केन्द्रीय राजनीतिमा उठेको तरंग आजदेखि मत्थर भएपनि त्यसको असर भने बाँकी नै रहने विश्लेषण गरिएको छ ।

कार्कीको चयन पछि नेपाली कांग्रेसभित्र सबैभन्दा बढी वहस चलिरहेको छ । महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगनकुमार थापाले शीर्षस्थ नेताहरुलाई यही निहुँमा अर्जाप्न थालेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले यसको जिम्मेवारी लिनुपर्ने र चित्तबुझ्दो जवाफ दिनुपर्ने भनेर माग गरिसकेका छन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्की ‘विद्रोह’ को शैलीमा मुख्यमन्त्री चुनिएका हुन् । नेता शेखर कोइरालाको समर्थनमा उनी मुख्यमन्त्रीको उम्मेदवार बनेका थिए । पार्टीको संस्थागत निर्णयबिना नै कोइरालाको निर्देशनमा कार्की उम्मेदवार बनेको भन्दै कांग्रेस संस्थापन पक्षले चर्को आलोचना गरिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थन र आफ्नो समूहका सदस्यको साथ लिएर कार्की मुख्यमन्त्री बनेका हुन् । आज उनलाई सबै प्रमुख दलले विश्वासको मत दिने निश्चित जस्तै छ ।

दोस्रो कार्यकालमा प्रदेश सरकारले कार्कीलाई पाँचौ मुख्यमन्त्री पाएको छ । ९ महिनाको अवधिमा मुख्यमन्त्रीहरु फेरिएका फेरियै छन् । पछिल्लो पटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका हुन् । ९३ सदस्यीय कोशी प्रदेशमा कुनै पनि दलको बहुमत हुन नसक्दा राजनीतिक अस्थिरता देखिएको हो ।

सरकार बनाउन ४७ जना सांसदको समर्थन आवश्यक पर्छ तर कुनै पनि दलसँग बहुमत पुर्याउने सांसद संख्या छैन । त्यसैले अरु दलको सहयोग बिना सरकार बनाउने सम्भावना कोशीमा नभएको हो ।

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र कांग्रेसका २९ जना सांसद छन् । यस्तै, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एकजना सांसद छन् ।

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक बुधबारका लागि बोलाइएको छ ।

एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा केन्द्रको निर्णय प्रभावी हुने गरेकाले राजनीतिक अस्थिरता देखिएको बताउँछन्। माओवादी नेता इन्द्रबहादुर आङ्बो भने प्रदेशमा केन्द्रको हस्तक्षेप नभएको दाबी गर्छन् ।

कोशी प्रदेशमा यसअघि एमालेका शेरधन राई, एमालेकै भीम आचार्य, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री भइसकेका छन् । तर राजनीतिक अस्थिरताकै कारण कुनै पनि मुख्यमन्त्रीले पूर्ण कार्यकाल काम गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।