0 COMMENTS

असोज ३०, काठमाडौँ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।

कान्तिपुर मिडिया ग्रुुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई वहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघले आज (मंगलबार) दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुुपमा १ घन्टा धर्ना दिने कार्यक्रम रहेको र यो धर्ना श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने महासंघका महासचिव रोसन पुुरीले जानकारी गराउनुु भयो ।

व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुुपसमक्ष पटकपटक आग्रह गर्दै आएको थियो ।

“घोषित कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा हार्दिक आग्रह गर्दछ ।” महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।