0 COMMENTS

असोज २१, काठमाडौँ । हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली राजदूतावसले जनाएको छ ।

आक्रमणबाट घाइते नेपालीमध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनामा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली सम्पर्कविहीन भएको बताएका थिए ।

इजरायलमा रहेकामध्ये सुदूर-पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्कविहीन भएको मन्त्री साउदले सदनसमक्ष जानकारी गराएका थिए ।

गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका उनीहरू सुदूर-पश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् ।

ज्यान गुमाउनेहरूमा नारायणप्रसाद न्यौपाने घोडाघोडी–०४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी–०६ बझाङ, आशिष चौधरी बौनिया–०३ कैलाली, दिपेशराज विष्ट लेकम–०५ दार्चुला, आनन्द साह सपही–०६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन–०१ सुनसरी, राजन फुलरा पाचनली–०३ डोटी, पदम थापा लमिखल–०८ डोटी, प्रवेश भण्डारी शारदा–०३ सल्यान, लोकेन्द्रसिंह धामी मालिकार्जुन–०४ दार्चुला रहेका छन् ।

सल्यानका विधान सेजवाल, दाङका प्रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ । कञ्चनपुरका विपिन जोशी बेपत्ता छन् । सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेका दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।