0 COMMENTS

असोज ७, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ । राती भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै, मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुन सक्नेछ । यसका साथै चट्याङ्ग र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।