0 COMMENTS

असोज ४, काठमाडौँ । आज विश्व ‘अल्जाइमर्स’ दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन् ।

यो रोग लागेपछि बिस्तारैबिस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्त्यमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । पछिल्लो समय यो रोग लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको डा.जिपि अग्रवालले बताएका छन् ।

उनले भने, ‘अहिले बिर्सने रोग अल्जाइमर्सको संख्या बढिरहेको छ । सबै बिर्सने रोग अल्जाइमर्स हुँदैन् । तर अल्जाइमर्सको कुनै उपचार छैन । यसको सुरुवातमा आफूलाई नै बिर्सेको जस्तो लाग्छ । ‘मेमोरी लस’ भनेको साधारण कुराहरूबाटै सुरु हुन्छ । विस्तारै यो बढ्दै जान्छ र विस्तारै अरूले पनि याद गर्छन् । समयमा यो रोगको उपचार गर्न सकिएन भने अकालमै मृत्यु हुन सक्छ । दिमागले काम नगरेपछि विभिन्न दर्घटना पनि हुन सक्छ ।’

डा. अग्रवालका अनुसार सुरुवाती अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्ने र समाधानका उपायहरू खोज्नु पर्छ । ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ । समयमा नै यो रोगबाट बच्न पनि सकिन्छ ।

भिटामिन ‘बी’ नियमित सेवन गरे, डिप्रेसनबाट बच्ने, मानसिक तनाव नलिने, निन्द्राको समस्या समाधान गर्ने, लागू औषधको प्रयोग र जाँड रक्सी खान छोडे यो रोग लाग्ने जोखिम कम हुन्छ ।

सरकारले यो रोगबाट पीडित भएकाहरूलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता गर्दै आएको छ ।

यस्तै, संशोधित नीति तथा कार्यक्रममा औषधि उपचारका लागि थप मासिक पाँच हजार रुपैयाँ सहायता दिने व्यवस्था पनि गरिएको छ । ‘अल्जाइमर्स’ दिवस सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ तारिखदेखि मनाइँदै आएको छ ।

बिरामीको हेरचाह गर्न परिवारको व्यक्तिलाई विभिन्न व्यवहारिक ज्ञान प्रदान गरी सहयोग गर्न सकिन्छ । यो रोगबाट पीडितलाई परिवार, समाज तथा मुलुकले नै चासो दिएर ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप बाँच्ने अधिकारको प्रत्याभूति गराउन आवश्यक देखिन्छ । 

यसका लक्षणहरू

१.स्मरण शक्तिको ह्रास आउने, दैनिक जीवनयापनमा कठिनाई, खास गरी भर्खरैको घटनाहरू र व्यक्तिका नामहरू समेत बिर्सने ।

२.तर्क गर्ने क्षमता हराउनु र सामान्य समस्याहरू पनि समाधान गर्न नसक्नु ।

३.सामान्य काम गर्न पनि असमर्थ हुनु ।

४. समय तथा स्थानको ज्ञान हराउँदै जानु ।

५.आँखाले देखेका कुराहरू नचिन्नु ।

६.टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु ।

७. सामानहरू कता राखे भन्ने बिर्सनु ।

८. स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु ।

९.घरायसी तथा व्यावसायिक क्रियाकलापबाट विमुख हुनु ।

१०.व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।

के गर्ने ?
१. समयमा सुत्ने ।
२.तानव नलिने ।
३. जीवन शैली परिवर्तन गर्ने ।
४.उच्च रक्तचापको उपचार ।
५.शरीरको तौल नियन्त्रणमा राखने ।
६.नियमित शारीरिक व्यायाम गर्ने ।
७.खानपिनमा विशेष ध्यान दिने ।
८.पोषण तत्त्वहरूको कमी हुन नदिने ।

भिटामिन ‘बी’ नियमित सेवन गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन् । डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या, लागुऔषधिको प्रयोग र धेरै जाँड रक्सी पिउनेलगायतका कारण यो रोग लाग्ने खतरा हुन्छ । यस्ता कुलत समयमै छोड्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।