0 COMMENTS

भदाै २७, चितवन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।

मोरङबाट उपचारका लागि आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानुपर्ने हो ।’

यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गरे । उनले भने, ‘अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको छ । त्यससँगै समयमा उपचारका लागि निजी अस्पताल पठाउने गरिएको छ ।’ स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको उनको गुनासो थियो ।

मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरे ।

गुल्मीबाट बिरामी लिएर आएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उनले मन्त्रीका सामु आक्रोश पोखे । बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो राख्दै भने, ‘कर्मचारीले बिरामीका आफन्तलाई बुझ्ने भाषामा बुझाउने हो कि झर्कने फर्कने हो ।’

बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने चेतावनी दिए । उनले भने, ‘योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ ।’

अस्पताल प्रशासनलाई निर्देशन दिँदै उनले भने, ‘अस्पताल आएका बिरामी को कहाँ कति सिफारिस भए, के कारणले भए मलाई मासिक विवरण पठाउनुहोला ।’ सरकारी अस्पतालमा आएका बिरामीलाई उपचारका लागि निजीमा पठाउने छुट कसैलाई नभएको उनको भनाइ थियो ।

हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन आफू लागिपरेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले आठ सयभन्दा बढी चिकित्सकको काज सरुवा बदर गरी गाउँ पठाइएको जानकारी दिए । उनले अहिले सरकारले तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरेको र यसलाई अझै प्रभावकारीरूपमा अघि बढाउने बताए । पैसाको अभावमा उपचार गर्न नपाएको गुनासो गरेकी सर्लाहीकी महिलालाई मन्त्री बस्नेतले रु पाँच हजार नगद सहयोग गर्दै निःशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए ।

मन्त्री बस्नेतका साथमा रहेका बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भनसुनका आधारमा उपचार नभई सबैलाई एउटै तवरले व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिए । मानवीयतासँग जोडिएको कुरामा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै उनले अस्पताललाई क्षति हुने गरी काम गर्न छुट कसैलाई छैन भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।