0 COMMENTS

भदाै २७, डोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा डोल्पा जिल्ला समितिले विद्रोह गरेको छ । जिल्ला सचिवालय सदस्यहरु दन्तबहादुर परियार विराट, अर्जुन वलि टाइगर, रमेश रोकाया सन्जाल, कर्मकुमारी विक सपना, ललिता रोकाया विद्या सहित २ दर्जन बढी नेता कार्यकर्ताले एकसाथ विद्रोहको झन्डा उठाएका छन । संयुक्त रुपमा जारी गरिएको एक विज्ञप्ति मार्फत उक्त विद्रोह सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कम्युनिस्ट पार्टी भनेको मजदुर, किसान र उत्पीडित समुदायको राजनीतिक अग्रदस्ता हो । कम्युनिस्ट पार्टीको उद्देश्य/लक्ष्य सामन्त, नोकरशाह र पुँजीपति वर्ग र मुलत: त्यसले अवलम्बन गरेको विचारको अन्त्य र सर्वहारा जनवाद, वैज्ञानिक समाजवाद र अन्तत: साम्यवाद स्थापना एवं त्यस प्रकारको विचारद्वारा मानव जाति र प्रकृतिको सेवा गर्नुमा समर्पित र प्रतिबद्ध हुन्छ । त्यही महान उद्देश्य र कार्यभार सहित हामी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र संघर्षरत थियौं । परन्तु, हाम्रो कठोर संघर्षद्वारा जन्मिएको पार्टी र त्यसको नेतृत्व कम्युनिस्ट लक्ष्य र उद्देश्यबाट पतन भएको छ र संसदवाद, दलाल पुँजिवाद र साम्राज्यवादको चाकडी गर्न पुगेको छ ।

पार्टी र नेतृत्वको यस प्रकारको वैचारिक पतनका विरुद्धमा हामी तपशीलका २५ जना कमरेडहरुले विद्रोहको झन्डा उठाउने साहस गरेका छौं । डोल्पाको विद्रोहसँगै विद्रोही सम्पूर्ण नेता कार्यकर्ता मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत र एकताबद्ध भएको घोषणा गरिएको छ । विज्ञप्तिमा भनिएको छ “यससँगै हामी क्रान्तिको उल्लेखित उद्देश्य र कार्यभार सम्पन्न गर्न मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा ध्रुवीकृत र एकताबद्ध भएको सगौरव घोषणा गर्दछौं । यस प्रक्रियामा सहभागी बन्न सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी, देशभक्त एवं शोषित उत्पीडित समुदायमा हार्दिक आव्हान र अपिल गर्दछौं ।”

यससँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं डोल्पा जिल्ला इन्चार्ज तेजविक्रम शाहीले ध्रुवीकरणमा सामेल सम्पूर्ण नेता कार्यकर्तालाई स्वागत गर्न यसै साता विशेष कार्यक्रम आयोजनागर्ने उल्लेख गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।