0 COMMENTS

भदाै १३, काठमाडौँ । एमसीसी परियोजना कार्यान्वयन हुन नदिने उद्घोष गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्थानीय जनताको सहभागितामा काठमाडौंको जरसिंह पौवा (लप्सीफेदी) मा एमसीसी परियोजनाले अधिग्रहण गरेको २०६ रोपनी जग्गा कब्जा गरेको छ । स्थानीय जनताको बाक्लो सहभागितामा कब्जा गरिएको उक्त जग्गामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कार्यकर्ताहरुले हसिया हथौडा झण्डा गाडेका छन् ।

लप्सीफेदीमा हिजो साँझ स्थानीय युवाहरुले एमसीसी परियोजना खारेज गर, गो ब्याक एमसीसीको नारा लगाउँदै मशाल जुलुस प्रदर्शन गरेका थिए । एमसीसीका विरुद्ध भित्ते लेखन र मशाल जुलुस निकालेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, पार्टीको महाधिवेशन आयोजक समिति सदस्यद्वय केदार खतिवडा र प्रभात भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । चौतर्फी दबाबपछि हिजो बेलुका ८ बजे साँखु प्रहरी कार्यालयबाट रिहा गरिएको थियो ।

आज विहानैबाट भित्तेलेखनमा जुटेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु र स्थानीयले एमसीसी परियोजनाको जग्गा कब्जा गरेका हुन् । यसअघि पनि लप्सीफेदीका जनताले एमसीसी परियोजनाले लप्सीफेदीमा बनाउन लागेको ट्रासमिसन लाइन अन्यत्र सार्न भन्द्र एक महिना लामो आन्दोलन गरेका थिए । विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरेको भएपनि त्यो जग्गा एमसीसी परियोजनाका लागि ट्रान्समिसन लाइन बनाउन प्रयोग गर्ने भन्ने थाहा पाएपछि स्थानीय जनताले लामो समयसम्म आन्दोलन गरेका थिए ।

आजबाट सिंहदरबारमा एमसीसी परियोजना कार्यान्वयनको दिनगन्ती सुरुको घोषणा हुँदै गर्दा लप्सीफेदीमा भने एमसीसी परियोजनाकै जग्गा कब्जा गरिएको छ । अन्य परियोजना स्थलका जनता पनि आन्दोलन भएको समाचारहरु प्राप्त भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।