0 COMMENTS

भदाै १२, काठमाडौंँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी खारेजीको माग गर्दै प्रत्येक जिल्लाका सदरमुकाम क्षेत्रका भित्ता भित्तामा ‘गो ब्याक एमसीसी’ का नारा लेखिनेक्रम तीव्र पारेको छ । भोलिबाट एमसीसी कार्यान्वयन सुरु भएको घोषणा गर्न एमसीसीका उपाध्यक्ष क्यामरन एस.अलफोर्ड तीन दिने भ्रमणका लागि आज दिउसो नेपाल आइपुग्दैछन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (विप्लव) ले एमसीसी परियोजना खारेजीका लागि काठमाडौँ लगायत देशैभरका जिल्ला जिल्लामा आन्दोलन चर्काइरहेका छन् । आज सत्ताबाहिरका ९ वटा मजदुर संगठनहरु सम्मिलित संयुक्त ट्रेड युनियन संघर्ष समितिले पनि दरबारमार्गको याक एण्ड यति होटलमा रहेको एमसिए–नेपालको कार्यालय घेराउको कार्यक्रम राखेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (विप्लव), नेकपा (मशाल) लगायतका पार्टीका नेता कार्यकर्ताहरु समेत घेराउ कार्यक्रममा सरिक हुँदैछन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौँ, काभ्रेलगायत सातवटै प्रदेश र जिल्लाहरुमा विरोध प्रदर्शनका साथ “गो ब्याक एमसीसी, नो एमसीसी” का नाराहरुको भित्ते लेखन तीव्र पारेका छन् । भित्ते लेखनकै क्रममा काभ्रेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका तीन जना नेताहरुलाई प्रहरीले सोमबार गिरफ्तार गर्यो । चौतर्फी दबाबपछि पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य डिपी अधिकारी, प्रदेश सदस्य असल पाख्रिन र प्रदिप अस्तानीलाई प्रहरीले साँझपख रिहा गरेको थियो ।

काभ्रेको धुलिखेल, बनेपा, पनौती, भकुन्डे, पाँचखाल क्षेत्रका भित्ता भित्तामा ‘गो ब्याक एमसीसी”का नारा लेखनलाई व्यापक बनाइएको छ । त्यसैगरी काठमाडौंमा विभिन्न ठाउँमा पनि भित्ते लेखनहरु भइरहेका छन् ।

एमसीसी पास गर्दा जसरी सिंगो देश आन्दोलित बनेको थियो, अब यसको कार्यान्वयनको बेला पनि त्यसैगरी देशभक्त र क्रान्तिकारी जनताहरुमा जागरण पैदा भइरहेको छ । एमसीसी सम्झौता कार्यान्वयन भयो भने परियोजनाको सुरक्षाको नाममा अमेरिकी सेनाका क्याम्पहरु खडा गरिने र नेपालको कच्चा पदार्थ र भूमि छिमेकी मुलुकका विरुद्ध दुरुपयोग हुँदा मुलुक युक्रेन जस्तै अमेरिका र चीनबीचको युद्धबाट ध्वस्त हुने स्थिति आउने विषयविज्ञ तथा क्रान्तिकारी नेता कार्यकर्ताहरुले बताउँदै आएका छन् । अमेरिकाको साम्राज्यवादी मिसनामा आधारित एमसीसी परियोजना नेपाल र नेपाली जनताको हितमा नरहेकोले सबै नेपाली जनता मिलेर यसलाई नेपालबाट लखेट्नुपर्ने आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।